कृष्ण सेन ‘इच्छुक’ – माछा–माछा भ्यागुतो !
मेच उही हो पर्दा फेरिएको छ
नाटक उही हो दृश्य फेरिएको छ
नायक उही हो अभिनय फेरिएको छ
गीत उही हो भाका फेरिएको छ
‘डमडम’ बाचाहरुको विषालु धुनमा
ताण्डव नृत्यको एकछिन ताल फेरियो भन्दैमा
तिमी ठान्छौ पुरानो नौटङ्की पटाक्षेप भयो ।
रङ्गमञ्चमा थुप्रै कलाकारहरु छन्
महान् र प्रतापी नायक छ
सुन्दर परिधानमा सम्भ्रान्त नायिका छे
र, प्रतिनायकको भूमिकामा तनभिखारी जनता पनि छन्
नाटक बडो सुन्दर छ
र अझ बडो सुन्दर अभिनय गर्दै
नेपथ्यबाट आइरहेको आर्तनादहरुको कोरस् गीतमा
नरमुण्डहरुको मादल ठोकेर
नाचिरहेछ नायक र खुसीले गाइरहेछ
माछा–माछा भ्यागुतो !
माछा–माछा भ्यागुतो ! !
नाटक बडो रोचक छ
तिमी ठान्छौ यो कुनै कल्पनाशील
महाकाव्यको मौलिक प्रस्तुति हो ।
मदिरा उही हो प्याला फेरिएको छ
व्यक्ति उही हो दोसल्ला फेरिएको छ
पल्टन उही हो कवाज फेरिएको छ
धार उही हो तरबार फेरिएको छ
जल्लादहरुको उदार कृपाले
घाँटीमा टाँगेको फाँसीको पुरानो डोरी फेरियो भन्दैमा
तिमी ठान्छौ फेरि अप्राप्य जीवन
सदालाई सुरक्षित भयो ।
सम्मानित दर्शकहरु
कलाका प्रिय प्रशासकहरु
जतिसुकै प्रभावकारी होस् वा उत्कृष्ट अभिनयले पूर्ण
नाटक पुरानै र बासी छ
र, त्यो महान् प्रतापी नायक
यथार्थ जीवनमा सम्झ
तिम्रै टाउकोमाथि गिर खेल्ने
क्रूर खलनायक हुन्छ भने
र, इतिहासको प्रत्येक माछो देखाएर
सधैं भ्यागुताले जिल्याउँछ भने
त्यो तीतो सत्यबोध पनि
के त्यत्तिकै काव्यात्मक हुन्छ ?