Krishna Sen Ichchhuk – Hata Lagyo Shunya

कृष्ण सेन ‘इच्छुक’ – कविता : हात लाग्यो शून्य !

बूढी आमाको गन्गन् झन् बढेर गएको छ
बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ
घरका डाँडाभाटाहरु मक्केर गलेका छन्
खरको चुहुने छानो झन् तारामण्डल भएको छ
साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन्
निरुपाय भाइ सधैँ मेरै मुख ताक्छ
यो घर शान्तिको निकुञ्ज हो या अशान्तिको थलो ?
म अघोर पीडाले झोक्रेर चुपचाप सोचिरहेछु ।

वर्षदिनपघि
आमाका धमिला आँखामा पनि सपनाको उज्यालो चहक थियो
बाबुको रुग्ण देहमा पनि ताजा रक्तसञ्चार भएथ्यो
भाइ आशाको पुरानो तान चलाएर
विश्वासको नयाँ सपना बन्थ्यो
विपना तीतो थियो
तैपनि सपना मीठो थियो
झनै मीठो कल्पनाको यान चढेर
घरले जेनतेन गुज्रान गरेकै थियो
तर आज यो के भयो ?

भोको कुकुर आकाशतिर फर्केर रुन्छ
नानीहरु चाचा र खाजा भन्छन्
उदास घरले औडाहाको सुस्केरा फाल्छ
जहानहरु बातैपिच्छे रिसको नरसिङ्घा बजाउँछन्
मर्नु पनि गाह्रो
बाँच्नु पनि अप्ठ्यारो
जीवन सुखको मालसिरी गीत हो
या दुःखको करुण चित्कार ?
म असीम बेदनामा अथाह डुबिरहेछु ।

खोइ के फेरियो र आज गाउँघरमा
गरिबीले ढाड कुप्रिएकै छ
महंगीको पहाड चुलिएकै छ
अभावको भड्खारो गहिरिँदै गएर
टुप्पी–टुप्पीसम्म मान्छे पुरिएकै छ
न मन रुन छाड्यो
न जीवन दुख्न छाड्यो
साहूले भाका नाघेको र पुरानो तमसुक फेरे पनि
असामीका गलाहरु पहिलेझैं रेटिएकै छ ।

घर हेर्छु घर रित्तै छ
देश हेर्छु देश रित्तै छ
कसरी भनूँ आमा, सधैँको गन्गन् छोड्नुस्
कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस्
चारैतिर हेर्छु हात लाग्यो शून्य !
मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ
यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ?
म छली इतिहाससित बारम्बार सोधिरहेछु ।

(जनदीप, २०५८)