कृष्ण सेन ‘इच्छुक’ – कान्छी, भट्टी र देश
अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मीठो हाँसो
र अलिकति गरिब माइतीको पुरानो दाइजोले
मानौं प्रकृतिको सुन्दर पसल हो, नेपाल सजाएर
चियाको किटलीजस्तै भक्भकी उम्लिरहेको दुःखी मन अनि
रक्सीका बोतलहरुसित रित्तिरहेको बैंसालु यौवनलाई
विवशताका भोका थाली र कचौराहरुमा पस्केर
सन्तप्त मुस्कानहरुले उदासी बाँडिरहिछ
कान्छी भट्टी थापिरहिछ ।
यात्रीहरु आइरहेछन् / गइरहेछन्
परदेशीहरु गइरहेछन् / आइरहेछन्
कोही उसको रुपको नशा पिइरहेछन्
कोही उसको जीवनको दुर्दशा पिइरहेछन्
विदीर्ण मन अनि जीर्ण तनलाई
जोरेर छट्पटीको तातो भुङ्ग्रोभित्र
खिन्न सुस्केराहरुमा पीडाका धुँवाहरु फाल्दै
दिनरात क्लेश काटिरहिछ
कान्छी भट्टी थापिरहिछ ।
भट्टीमा भात पाकिरहेछ
भात सँगसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासु सँगसँगै कान्छीको आँसु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकिरहेछ
नेपाली छोरी ऊ
हिमालकी गोरी ऊ
विदेशका कोठीमा बेचिएकी अबोध चेलीझैं
गहबाट बहका नदीहरु झारिरहिछ
कान्छी भट्टी थापिरहिछ ।
उसका आँसुहरु
मानौं खुसी खोसिएका कोशीका अशान्त छालहरु हुन्
उसका रहरहरु
मानौं बन्धकी परेका गण्डकीका बेचैन लहरहरु हुन्
र ऊ, मानौं गरिब घरकी सुन्दर कन्याजस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो
जो आफूदेखि धेरै टाढा
सुदूर छाउनी र पराइका मोर्चाहरुमा बेखबर
प्रिय पति र मायालु बन्धुहरुलाई सम्झेर
स्नेहपूर्ण भाकामा डाकिरहिछ
कान्छी भट्टी थापिरहिछ ।