Min Dwandi – Besaha Khojna Jane Haru

भोकले सुकेका आन्द्रा बोकेर
रित्तो डालो र थुन्सेसहित
गाउँबाट, बस्तीबाट
बेसाहा खोज्न निस्केकाहरूको जमात
गाउँ–बस्तीमा फर्केनन्
छातीभित्र दन्कँदो राँको बोकेर
रित्तो झोलासहित
शहरका टोलहरूबाट
बेसाहा खोज्न निस्केकाहरूको हूल
शहरका टोलहरूमा फर्केनन् ।
उनीहरू
अन्नका गेडाहरूको सपनामा
आफ्ना बालबच्चाहरूलाई भुलाएर
गाउँ र बस्तीबाट निस्केका थिए
उनीहरू
आफैलाई समेत झुठो सान्त्वनामा अल्झाएर
शहरका टोलहरूबाट निस्केका थिए
तर उनीहरू
गाउँमा फर्केनन्, बस्तीमा फर्केनन् ।
उनीहरू
बेसाहाको खोजीमा लाम लागेर हिंड्दा
लाम त जुलूस भएछ
“महंगीले अक्काश छोयो” भनेर
आपसमा कुरा गर्दा
कुरा त नारा हुन गएछ, ब्यवस्था विरोधी भएछ
र बेसाहा खोज्न निस्केकाहरूको नाम
“अराष्ट्रिय वा उग्रवादी तत्व” मा दर्ता हुन पुगेछ
त्यसैले, उनीहरू
गाउँमा फर्केनन्, बस्तीमा फर्केनन्
र शहरका टोलहरूमा फर्केनन् ।
उनीहरूले दोबाटो–चौबाटोमा
“हामी भोका छौं” भन्ने राय व्यक्त गरेछन्
उनीहरू माथि लाठी बर्सिएछ
उनीहरू घाइते पारिएछन्
अझ, कसैले त झन
“हामीले खान पाउनु पर्छ” भन्ने
‘दुस्साहस’ समेत गरेछन्
त्यसैले उनीहरूमाथि
गोलिका पर्रा छोडिएछन्
र दोबाटो–चौबाटोभरि उनीहरू ढालिएछन् ।
भोका केटाकेटीहरूको क्रन्दनले
सुतेर खाने र खानासाथ सुत्नेहरूको
निंद कचल्ट्याएछ
त्यसैले, बेसाहा खोज्न हिंडेकाहरू
“शान्ति खलबल्याएको” अभियोगमा
जेलमा कोचिएछन्
अनि डालो, थुन्से र झोला बोकेर
हिंड्नेहरूको बाँकी लस्कर
घाइते भएर लडेछन्
घर फर्कन घिस्रिंदा–घिस्रिंदै
उनीहरू रगत छादेर
सडक र गोरेटोमै मरेछन्
त्यसैले उनीहरू
गाउ‘ र बस्तीमा फर्केनन्
शहरका टोलहरूमा फर्केनन् ।
रगत र पसिनाका आहार खानेहरूसँग
उनीहरूले अन्नपातको कुरा उठाएछन्
त्यसैले उनीहरूमाथि
लाठी र बन्दुक बर्सिएछन्
उनीहरूलाई भकुण्डो खेलाईंदै
फलामे बारभित्र धकेलिएछ
घाइते पारिएछन् र गोलीका पर्रा छोडेर मारिएछन् उनीहरू
त्यति मात्र होइन
उनीहरूको सम्पत्ती सबै
जफत गरिएछ
रित्तो झोला, थुन्से र डालाहरू समेत
खोसिएछन्
त्यसैले
घरमा भोको पेट लिएर
बाटो हेरिरहेका लाला–बालाहरूका
आसाहरू घर फर्केनन्
ओछ्यानमा समय गनिरहेका बृद्धाहरूका
जीवनहरू घर फर्केनन् ।
यसरी,
गाउ‘बाट, बस्तीबाट
शहरका टोलहरूबाट
रित्तो झोला, थुन्से र डालाहरू बोकेर
बेसाहा खोज्न निस्केकाहरूका ताँतीहरू
गाउँमा फर्केनन्, बस्तीमा फर्केनन्
शहरका टोलहरूमा फर्केनन्
उनीहरू कहिल्यै कतै
फेरि देखिएनन् ।