Min Dwandi – Jagaran : Budhi Aama Ko

बेआवाजका कल्याङ–कुलुङ बोकेर आउ‘दै
दिनहरू
युगभरिको दुखाइ छोडेर भागिरहेछन्
सपना बिगार्दै
अनिंदो थपेर
रातहरू
आँखा पकाउँदै बगिरहेछन्,
यस्तोमा, सिल्टेको चुहुने दिउरीमा
आँसु बसालेर
बुढीआमा जागिरहिछन्
वर्षहरू
आयु कट्टा गर्दै हिंडिरहेछन्,
महिनाहरू
रोग थप्दै चिप्लिरहेछन्
रोग आखिर रोग नै हो
ठूलो होस् वा सानो होस्
क्यान्सर आखिर क्यान्सर नै हो
घाँटीमा होस् वा छातीमा होस्
रोग निल्दै आँसु पिउँदै हाँसो साँच्ने रहर
रहर आखिर केवल रहर ।
बिहानहरू, बाचा बाँधेर गए
दिनहरू आसा साँचेर गए
फेरि पनि सँधै झैं अफ्हास गर्दै
अन्धकारको हूल
“संसार केवल हाम्रो हो” भन्ने नारा फलाक्दै
राष्ट्रभित्र पसे,
बस्तिभित्र पसे
सिल्टेको दिउरीभित्र पनि पसे ।
तर पनि
सिल्टेको चुहुने दिउरीमा
आँसु बसालेर बुढीआमा
निरन्तर जागिरहिछन्
पाक्ने निहुँमा आँसु छचल्किएर पोखिइरहेछ
तर पनि वाफ बनेर आँसु रित्तिन सकेको छैन
आँसु त्यसै गहभित्रै सिद्धिन सकेको छैन ।