Min Dwandi – Dhuwan Ra Rolpa

धुँवा रूमल्लिएको छ घरमा
धुँवामा रूमल्लिएको छ घर
धुँवाले पिरिएको घर,
धुँवाले धैंसाएको घर
धुँवा अकासिएको हेरिरहेको छ
धुँवा अकासिने समय गनिरहेको छ ।
‘बैना’ पानी लिन छक्कालै गएकी हो
अझ आएकी छैन
ऊ आइपुगेकी छैन
उसले लगेको गाग्रो
आइपुगेको छैन
त्यसैले गाग्रो भएर
पानी आइपुग्न सकेको छैन
पर्खिरहेछ यो घर प्यास बोकेर ।
‘सम्पत्ति’ लाई पानी खुवाउन
गएको हो भाइ
सम्पत्ति पानी पिएर फर्के
तर ऊ फर्केको छैन
पानीको कुवासम्मको बाटोले
उसलाई निलेको हुनसक्छ
त्यसैले ऊ घर फर्कन सकेन ।
‘सरखार’ ले धारा बनाइदिएको छ
धारा विकासको प्रमाण भएर
ठडिएको छ यो गाउँमा
धारा छ, पानी छैन
ठडिएको धाराबाट पानी बग्दैन
धारासँग पानीको
कुनै सम्बन्ध छैन यो गाउ‘मा
धाराबाट पानी आउनु पर्ने
कुनै नियम छैन यो गाउ‘मा ।
पखाला लागेर नाति
मर्ने–बाँच्ने दोसाँधमा छ
ऊ यसबेला “पानी पानी” भनेर
कराइरहेको छ
रेडियोको विज्ञापनले
पखाला लाग्दा
नून चिनी पानी बनाएर
खुवाउनु पर्ने ‘नुख्सा’ सुनाएको छ
तर खै
अझै पनि बैना फर्केकी छैन
गाग्री भएर पानी आइपुगेको छैन ।
गाउँमा ‘सरखार’ ले
हेल्थपोष्ट बनाइदिएको छ
त्यसैले त्यहाँ एउटा साइनबोर्ड
सँधै झुण्डिरहेको हुन्छ
हेल्थपोष्टमा न त डाक्टर छ
न औषधी छ
पिउन नै यहाँ डाक्टर बन्छ, नर्स बन्छ
र बिरामी छाम्छ, जाँच्छ
रोग जे होस्
ऊ स्टोरमा बाँकी रहेकै औषधी दिन्छ ।
पानी लिन जाँदा गंगे ओली हरायो
खोज्न जाँदा केवल उसको
क्षत–विक्षत लाश भेटियो
केही वर्षपछि
रामे घर्तीको जीवन पनि
पानीको चाहनामै मेटियो
सरखारलाई त के छ र
गाउँमा धारा ठड्याइदिएर
कर्तव्य पूरा गरिदिएको छ,
यो गाउँमा
धारासँग पानीको वा सरखारको सम्बन्ध
अनिवार्य छैन ।
जनप्रतिनिधिहरू
केवल चुनावमा
बलियो घोडा चढी
यता आउने गर्दछन् ।
कहिले यी गाउँबाट धुँवा हराउला खोई ?
धुँवा हराउनु जरूरी छ गाउँबाट
कहिले यो गाउँमा
पानी आउने धाराहरू जडिएलान् खै ?
पानी आउनु जरूरी छ यो गाउँमा ।