Nawaraj Subba – Dubo

बगरको छातीमा
जन्मैदेखि म दूबो
रहर समाइ
लम्किरहेकै बेला
नाता नटुर्टाई माटोसँग
शून्यताविरुद्ध
शिर उठाइरहेकै बेला
उज्यालोको तिर्खामा
आकाशतिर चियाइरहेको बेला
कसैका निर्मोही हातले मलाई
टपक्कै टिपे
सुम्सुम्याएझैँ गरी
निर्दोष गाला चिमोटे
टाँसिएका माया मेरा
माटो टक्टक्याउँदै जराहरू पिटे
साँच्चै उनीहरूले मलाई हिजो
पैतालाले कुल्चे र गला निमोठे
अझ यतिले नपुगेर
उँधोतिर बगाएर मलाई
उँभोतिर खोजिटोपले
साइत तिथि समय बद्लियो
क्या अचम्म !
उनीहरूले मलाई साँच्चै उँभोतिरै भेटे
घरको मूल ढोकैमाथि देखे
अनि स्वयम्बरमा दुनियाँले मलाई
मायालु मन जित्नेलाई भनेर मालामा उने
बेहुलीका सिङ्गो वरमालामा गाँसे
अन्ततः उनीहरूले मलाई आज
बेहुलाको गर्विलो छातीमा हाँसेको देखे ।