Min Dwandi – Kun Manle

आर्थिक विषमताले जन्माएका प्रश्नहरू
निर्धामाथि ठालूका अतिक्रमणले उठाएका प्रश्नहरू
न गहमा पोखिएको नूनिलो आँशुले समाधान हुँदोरैछ
न ओठमा जन्मिएको किर्ते हाँसोले समाधान हुँदोरैछ
विषमताको विषले छटपटिनु पर्दा
अमानवीयताको सिक्रीमा भुटभुटिनु पर्दा
निश्चिन्तताको आभास पाउनु कुन मनले ?
स्वाधीनताको गीत गाउनु कुन मनले ?
सौन्दर्यलाई जेलमा थुनिएको अबस्थामा
श्रृजनामाथि प्रतिबन्ध लागेको अवस्थामा
न बगैंचामा बसन्त डुल्न सक्दो रैछ
न यो धरतीमा पसिना फुल्न सक्दो रैछ
तर, सौन्दर्य बन्दी बनेको छ भनेर,
श्रृजनामाथि प्रतिबन्ध छ भनेर
बसन्तसँग नाता तोड्नु कुन मनले ?
पसिना रोप्न चटक्क छोड्नु कुन मनले ?
न आफ्नो देशले आफूलाई आफ्नो भन्न पायो
न आफ्नो देशलाई आफूले आफ्नो भन्न पाइयो
आफ्नो लागि देश बिरानो
देशको लागि आफू बिरानो
आफ्नै देशलाई माया गर्न साइनो छैन
आफ्नै भूमिमा बिश्रान्तिको ‘आइनो’ छैन
स्वर्णिम देशको कल्पना गर्नु कुन मनले ?
विश्व शान्तिको कामना गर्नु कुन मनले ?