Min Dwandi – Yo Saal Pani Bitera Gayo

केही न केही त गरूँला भन्दाभन्दै
दुःखको जंघार तरूँला भन्दाभन्दै
यो साल पनि बितेर गयो,
न केही गर्न सकियो
न यो जंघार तर्न सकियो
आफ्नै धुनीखुनीबाट
छुटकारा नपाउँदै
यो साल पनि बितेर गयो ।
भोलि कहिले आउला भन्दाभन्दै
चाडपर्वको दिन गन्दागन्दै
यो साल पनि बितेर गयो,
केही परिवर्तनको आसामा
केही उन्नतिको लालसामा
मनभित्रका पूmलहरू
कुनै फुल्न नपाउँदै
यो साल पनि बितेर गयो ।
रोपेको अन्न पाक्ला भन्दाभन्दै
सुतेको भाग्य जाग्ला भन्दाभन्दै
यो साल पनि बितेर गयो,
चुहुने छानो यो वर्ष त टालँुला भनेको थिएँ
नयाँ घरको जग पनि यै वर्ष हालुँला भनेको थिएँ
तर कठै, चुहुने छानो टाल्न नपाउँदै
नयाँ घरको जग पनि हाल्न नपाउँदै
यो साल पनि बितेर गयो ।
गर्मीमा जाडो पर्खेर
जाडोमा गर्मी पर्खेर
यो साल पनि बितेर गयो,
दुर्भाग्यको रेखा
यो वर्ष त केरिएला झैं लागेको थियो
आमाको तनको जीर्ण चोली
यो वर्ष त फेरिएला झैं लागेको थियो
तर बरै ! आमाको लाज ढाक्न सक्ने
नयाँ चोलीको चाँजो नमिल्दै
यो साल पनि बितेर गयो ।