Samarthya – Bahas

सामर्थ्य – बहस

पाभेल,नेपाल गएका छौ?
अहो,
अजिब छ,
दन्त्यकथाजस्तै
त्यस्तै दन्त्यकथा
जसमा देवता मूकदर्शक हुन्छ,
दैत्य आकर्शक हुन्छ,
मानिस आफैँभित्र यी दुईको सर्जक हुन्छ,
जाउ ओर्लोभ
तिमीपनि जाउ
तर विचार गरे,
हाम्राजस्ता काला चिम्नीहरु नदेखौला,
नचिनिने ब्वाँसाहरु र गिद्धहरु देखौला
भोड्काका भोकाहरु पनि देखौला
मान्छेभन्दा धेरै देउताहरु देखौला
तिनीहरु ती हिमाललाई
हाम्री साशाभन्दा राम्री भन्छन्,
ऊ प….र डाँडाको
निकोलाइको भेडाफर्मजस्तो देवीथानसँग
दुहुनो भैँसीको आशा गर्छन्,
भिर्छन एउटा पातलो जीर्ण जुत्तातुने कीरोजस्तो डोरो
धर्मको रुपमा,
अनि चुडिन्न? सोधौला,
चुडिन्छ भ्लादिमिर,चुडिन्छ
एकबाजि हैन
पटक पटक चुडिन्छ,
र जब चुडियो
लागेथ्यो सर्वस्व चुडियो,
तर क्यै चुडिएन उस्को,
चाबीको झुत्तो झुण्डिएको धर्मडोरो चुडियो,
त्यसैकारण
दाम्पत्य सम्बन्ध चुडियो,
तर अर्को धर्मडोरो भिर्यो उसले,
चाबीको झुत्तो र सम्बन्ध फेरि जोडियो
देख्यौ?
बडो अजिब छ नेपाल,
लागेन चेखबको दन्त्यकथाजस्तो?