धने
बञ्जर भूमी खन्छ
जोत्छ र उमार्छ बीउहरु
बीउसँगै उम्रन्छ धने
फक्रन नपाउँदै
उसको खेतमा
उसको जिन्दगी उम्रने खेतमा
साँढे पस्छ र चपाउँछ उसको पूरा जिन्दगी
फेरि
बेला नहुँदै ओइलाउँछ
मात्र ओइलाउँछ धने
पैह्रो जान्छ उसको हृदयमा
जिन्दगीका पाटा पाटामा पैह्रो जान्छ
ओठमा
आँखामा
सपनामा
चारैतिर पैह्रो जान्छ
उसका स–साना
नानीका नानामा पैह्रो जान्छ
हरेक बिहान र हरेक साँझको
खानामा पैह्रो जान्छ
पटक पटक बन्ने प्रयत्नमै
भत्कन्छ धने
मात्र भताभुङ्ग हुन्छ
कान्लो लड्छ र उ पनि लड्छ
असिना वर्षन्छ र उ पनि चुटिन्छ
तै पनि
पूर्वको लालीसँगै
उठ्छ धने
कुटाले भुईँ खोप्छ
र आफैंलाई माटोमा
रोप्छ धने।