रवीन्द्र मिश्र – मृत्यु
मलाई थाहा छैन तिमी कहिले आउँछ्यौ
एकै छिनमा
एक महिनामा
या बर्षौंमा
मलाई यो पनि थाहा छैन
तिमी कसरी आउँछ्यौ
मध्य-आकाशमा पड्किएर
घुमाउरो बाटोमा पल्टिएर
कालो रातमा काँपेर
लामो समय थलिएर
या बिहानै मुस्काएर
तर
म संसारलाई हेर्छु
र आफैंलाई हेर्छु
तिमीले
जीवनमा मलाई यति धेरै दि’सक्यौ भने
तिमी जहिले, जसरी आए पनि
मृत्यु
म तिमीलाई मुस्काउँदै वरण गर्नेछु
अब मेरो कुनै गुनासो रहने छैन ।
– रवीन्द्र मिश्र, २५ पुस २०६२