रजनी ढुंगाना – आश्चर्य
के को आश्चर्य
के नै नौलो भयो र
सीताको अग्नि परिक्षा माग्ने यो समाजले,
औला उठायो, कानेखुसी गर्यो।
के बिस्मात केको गुनासो,
खुला आकाशमा बिचरण गर्नु तिम्रो स्वतन्त्रता ,
अनि छेउ छेउ सम्हालियेर पाइला सार्दा मैले , नदि उल्टो बग्यो,
तिम्रा बकम्फुसे कुरा गहन गहकिला
अनि मेरो तर्क चाहिँ पोथी बासेको,
तिम्रो अट्टहास त अर्थपूर्ण भैगयो
अनि मेरो मन्द मुस्कान छाडा, छिलिएको…
मेरो अतीत त जीवन भर कै अभिषाप
तर तिम्रो अतीत त सानो भुल मात्रै ,
के नै नौलो भयो र?
केको घोर आश्चर्य
मेरो ब्यस्तता , मेरो कार्य
ढोङ , गैरजिम्मेवारि,
तिम्रो सयर, तिम्रो यात्रा
भविष्यको पुर्व तयारी
घडीको सुइले साँझको सात हान्दा
चरीत्रको तराजुमा जोख्छौ मलार्इ
रात रात भर तिमी न आउँदा
त्यो तिम्रो मौलिक अधिकार ,
मेरो बुझाइ , मेरो चेतनशीलता
घमण्ड ,अहंकार
के नौलो भयो र के को घोर आश्चर्य?