हरिकृष्ण महर्जन – एउटै प्रश्न
माग्ने गर्छु बटुवासँग हात फैलाएर
पदयात्री बाटो मोड्छन मुन्टो बटारेर
रहर हुन्न कसैको नि हात फैलाउने
जीवनयापन गर्न अरुलाई हात जोड्ने
कोही छैनन दु:खीको हात समाउने
आँसु झर्ने आँखामा हाँसो उनिदिने
चिच्यौंछु करौँछु रुन्छु अँधेरीमा
पिसिंछु म सँधै बेद नाको अचानोमा
सोच्छु जीवन पाए हुन्थ्यो अरुको जस्तो
सधैं एक्लै भौतारिने मेरो भाग्य कस्तो !
मनभित्रको अग्नि ज्वाला मनभित्र नै मार्दैछु
जन्म दिने आमालाई एउटा प्रश्न गर्दैछु
“जन्मायौ किन यो धर्ती मा ज्युँदै मार्नलाई
मुटुको टुक्रा लाई फलिदिनलाई ?”