प्रिय मान्छे !
म तिम्रा सामु सपथ खान्छु
लिएर जाऊ मेरो फुलको हृदय
नचुँड्दै यसको एक पत्र पनि
पर…….
जहाँ तिनीहरु छन्
कामदारहरु
असल कामदारहरु
बनाऊ यसलाई हतियार
प्रिय मान्छे !
लिएर जाऊ यसलाई
मुर्दाहरुको बस्तीभन्दा बाहिर
पर……. टाढा
जहाँसुकै होस्
जिउँदा मान्छेहरुको बस्तीमा
प्रकृतिका सुन्दर काखमा
रोपी देऊ यसलाई
न्यानो माटोमा
शोभायमान पर्वतमाथि
सुन्दर रुख झैं
उभिन सकोस् यो
प्रिय मान्छे !
लिएर जाऊ यसलाई
टाँसेर आफ्नै छातीमा
रोपी देऊ यसलाई
विशाल आकाश मुनी
फैलिएका फाँटहरुमा
हराभरा
रमाउन सकोस् यो
माया देऊ
फुल्छ हृदय
लगाऊ यसलाई सुकर्ममा
बलिया पाखुरीलाई झैं
अझै दृढताका चित्र कोर
हृदय न हो दृढ हुन्छ
सजाऊ यसलाई
असल पुस्तक राखिएका
आलमारी जस्तै
मनको आलमारीमा
तर कतै
मनको आलमारी ढल्न नदेऊ
चोट लाग्ला है
हृदयमा ।