Pratima KC – Ankha Khola Buddha

प्रतिमा के.सी. – आँखा खोल बुद्ध

मेरो देश रोईरहेछ
तिम्रो देश दुखिरहेछ
विनासकारी भुकम्प आईरहेछ
त्राही त्राही पारिरहेछ
आज मरिन्छ कि भोलि भन्ने
भयंकर त्रासदीले
बांच्नेहरुलाई पनि
पटक पटक मारिरहेछ
असुरक्षा र अशान्तिले
हाहाकार पारिरहेछ
चहराएका घाउमा मलहम लगाउन
मानव ह्रदयमा मानवता जोगाउन
सहयोगीहरुलाई आशिर्बाद दिन
हामीलाई शान्ति दिन
आँखा खोल बुद्ध

संसारले बहादुर भनेर चिन्ने
बिश्वभरीका नामी हामी
धरहरा ढल्दा हेरिरह्यौं
बसन्तपुर भत्किंदा रोईरह्यौं
सगरमाथा हल्लिदा टोलायौं
मन्दिर, मस्जिद, गुम्वा, चर्च भत्किंदा
हामी पनि भत्कियौं
पृथ्वीको चलायमानमा
पाईला थाम्न सकेनौं
आफ्नै शीर जोगाउन सकेनौं
आफन्तलाई बचाउन सकेनौं
कमाएको धन जोगाउन सकेनौं
हामी निरीह र कम्जोर बनेको हेर्न
आँखा खोल बुद्ध !

मठ, मन्दिर र चारधाम पुगेर
दान गर्ने दानी हामी
आज प्राण धान्नको निमित्त
नांगो ढाक्नको निमित्त
खुल्ला आकासमुनिको वासमा
घाम, पानी र शीत छल्नको निमित्त
बिश्व सामु हारगुहार गरिरहेछौं
हात फैलाएर राहत मागिरहेछौं
हाम्रा यी दर्द र दर्दनाक दृश्य हेर्न
आँखा खोल बुद्ध !

लुम्विनीमा जन्मिएर
संसारभर शान्ती फैलाउने
कर्म र धर्मको भेद छुट्टाउने
जीवन र मृत्युको रहस्य खोज्ने तिमी
मेरो देशको विनाश हेर्न
तिम्रो देशको लाशको रास हेर्न
आँखा खोल बुद्ध !

आमा मरेको, बाउ पुरिएको
भाईबहिनी क्षतविक्षत भएका
सन्तान छुटेको
आफन्त छुटेको, प्रियजन छुटेको
हात भाँचिएको, खुट्टा काटिएको
नातागोता छिन्नभिन्न भएको
सयौं बर्षसम्म नपुरिने यी घाउहरुमा
छटपटाईरहेका, चहराईरहेका
चित्कार र आर्तनादले भरिएका
मेरो देशको आपतविपत हेर्न
तिम्रो देशको रोदन क्रन्दन हेर्न
आँखा खोल बुद्ध !

पीडाले भावविह्वल प्राणी हेर्न
कहिल्यै नजोडिने गरी
टुटेका फुटेका भत्किएका
नेपाल र नेपालीको तस्वीर हेर्न
चिच्याईरहेका रोईरह्का
मानिसहरुको हुल हेर्न
आँखा खोल बुद्ध !

पाखाहरुमा फ़ुल फुलाएर
खेत बारीमा धान मकै झुलाएर
पहराहरुमा छहरा बगाएर
हाम्रो मन लोभ्याउने प्रकृतिले
विनाशकारी महाकाल रुप धारण गरी
हाम्रो धर्तीलाई क्षतविक्षत पारेको
हामीहरुलाई लछारपछार गरेको
हजारौं हजार मान्छेलाई मारेको
लाखौलाई घाईते बनाएको
बाँचेकाहरुले थेग्नै नसक्ने
जिन्दगीभरीका घाउ दिएर
चोटै चोटले थला परेको
रोईरहेको
कराईरहेको
भावविह्वल वनेर
ढलिरहेको
मेरो जन्मभूमि हेर्न
तिम्रो जन्मभूमि हेर्न
आँखा खोल बुद्ध !
आँखा खोल बुद्ध !!

रेडिंग, बेलायत
४ मे २०१५
बुद्धजयन्ती