Aayam Phuyal – Samrakshyanka sambaahak yuwa

संरक्षणका संवाहक युवा – आयाम फुयाल

म एउटा सूर्यको टुक्रा

म तापिएँ

बाफिएँ

खुम्चिएँ

अग्लिएँ

पग्लिएँ

छचल्किएँ

अनि बगेँ…

कैयौँ वर्षपछि आज

मानिस मेरो शिरारोहणको अभिलाशा बोकी आउँछ

फोहोरको डङ्गुर बिसाइ

सफलता चुमेसरि बाहिरिन्छ

हे अर्धचेत युवा,

तिम्ले त्यस दिन सफलता चुम्नेछौ

जुन दिन म बग्ने बाग्मती

तिमी निसङ्कोच घटघटी पिउन सक्ने हुनेछौ!

मेरो भीमकाय पथ

दुई बित्ते खहरे बन्यो

र त्यसैमा पनि कथित सभ्य मानिसका मलमूत्र घोलिए!

देख्छु-

वर्षौँ अघिको उर्वराभूमि आज

घरमुनि दबिएको छ

र अझै मानवजाति आधुनिकताको नारा चर्काउँदै छ!

धिक्कार लाग्छ-

बुट्टे ढोकामा रोएको कस्तुरी

अनि सहरीकरण नभएकाले मात्र बँचेका वनस्पति र जमिन!

म आक्रान्त भई बाँकी जडिबुटी सिंचाइ गर्न हुत्तिन्छु

तर जब त्यस सञ्जीवनीका वरिपरि

गैरदेशीको चक्कु र ब्रिफकेश देख्छु

तब मन अल्लालेर आह्वान गर्छ-

हे संरक्षणका संवाहक युवा

हे भाष्करका तप्त प्रादूर्भाव

हे सूर्य प्रसाद

रोज अब काष्ठ उद्यौगको विकल्प

हरित अस्त्रले सजाउ कलकारखाना

नसजियोस् भित्तामा बाघाम्बर र मृगचर्म

चिराइतोहरुले लोभ्याउन् जडिबुटीको केन्द्र

नठडियोस् प्रकृतिदोहनबाट कृत्रिम निवास

प्रकृतिमैत्री होस् आधुनिकीकरणको आभास

एक नविन आयाम: श्यामल कायापलट

किनकी शास्त्र बोल्दछ-

योवनो शक्तिवाहक: