आहुति – छद्म शरणार्थी
ऊ जन्मिएको रहेछ मेरो देशमा
त्यसरी नै शायद
जसरी बिना चाह आउन बाध्य हुन्छन्
शरणार्थी /
बाल्यकालभरी
दुध रोटी खेलौना कपडा मागिरह्यो
जे सम्भव थियो जति सम्भव थियो
उसले पायो
मागे जति नपाए पनि
युवा हुन पुग्ने गरी उसले पायो /
उमेरको जुन बिन्दुदेखि
माग्न छाडेर उसका अभिभावकले
बाड्न सुरु गरेका थिए
उसले भने माग्न …..
केवल माग्न छाड्दै छाडेन /
जति तन्नेरी हुँदै गयो
उति उति माग थप्दै गयो
जिन्स पाइन्टबाट सुरु भयो र थपिदै गयो
महंगो घडी
मोटरबाइक
ल्यापटप
आइ फोन
कार बंगला आदि इत्यादि
हाइफाई जिन्दगी /
टिठ लाग्ने गरी माग बढाउदै गयो
ऊ आफ्नै भूमिमा त्यसरी माग राख्थ्यो
जसरी माग राख्न बाध्य हुन्छन्
सिर्जनभूमि गुमाएका
शरणार्थी /
उसको माग देख्दा यस्तो लाग्थ्यो
ऊ उर्वर भूमिको देशमा होइन
सहारा मरुभूमिको केन्द्र भागमा जन्मिएको हो
उसको जिद्दी देख्दा यस्तो लाग्थ्यो
ऊ जे खाएर जे लाएर हुर्क्यो
ती सबै सबै जंगली वृक्षमा फलेका थिए
उसको चाहना सुन्दा यस्तो लाग्थ्यो
ऊ जे जे मागिरहेछ
मानिसले ती चिजहरू सपनाबाट टिपेर ल्याएका हुन् /
उसको मस्तिस्क र हातमाथि प्रतिबन्ध लागेको भए
ऊ अकालमै मर्नुपर्ने दिन आएको भए
ऊ नाङ्गै पर्ने निश्चित भएर हिडेको भए
ऊ भोकै मर्ने सुनिश्चित भएर गएको भए
यो सुचना जारी गर्नुपर्ने थिएन
यो कविता पनि लेख्नुपर्ने थिएन /
ऊ गयो
कहिल्यै नफर्किने गरी गयो
अपजसको नाली वातावरणमा वान्ता गरेर
यो देशलाई छाडेर गयो
यस युगको मेरो देशको सबैले चिन्नैपर्ने
निकै नै खतरनाक प्राणी
छद्म शरणार्थी /
– बिहीबार, 19 भाद्र, 2071