कृष्ण कट्टेल – सरकारसँग प्रश्न
सरकार !
मेरा बा को पसिनाले
हुर्कायो,बढायो अनि पढायो
मेरी आमाको मायाले
संस्कार सिकायो,
हो सरकार
अब म भित्र जाँगर पसेको छ,
सपनाहरु सजाएको छु मुटुभित्र
अब प्रयोग गर मलाइ तिमीले
किनकी म यहि माटोमा
स्वर्गीय फूल फूलाउन चाहन्छु
भन सरकार,
किन मौन छौ ?
मलाइ कहाँ देखाउछौ चुनौती ?
म तिमीले दिएको चुनौती सामना गर्न तयार छु,
त्यसबेला बगेको मेरो पसिनाले
यो देशको दुःख बगाउन सकोस ।
खै किन बोल्दैनौ सरकार ?
कि म पनि राहदानी बनाउने लहरमा बसौँ ?
आँसु चुहाउदै मेरी आमालाइ छोडेर
अर्काको लागी म दुःखको समुन्द्र तर्न चाहन्न
म यहि हिमाल,पहाड र तराइको लागी बाँच्न चाहन्छु
यहि माटोमा तागत रोप्न चाहन्छु
खै कहाँ ? के देखाउछौ मेरालागी चुनौती?
जसलाइ म अबसर ठानेर आमाको सेवा गर्नेछु
जसरी एकमुटठी चारोले
हजारौ परेवाको पेट भर्न खोजेझै
सिमित धोक्रोभित्र असंख्य बिचारहरु
र असंख्य जवानहरु थुपार्न नखोज
त्यसैले देखाउ चुनौती यी जुर्मुराएका सन्तानहरुलाइ
जो खोजिरहेका छन् फूलाउन
लालीगुरासझै यो देशलाइ ।।
ओखलढुङगा, कटुञ्जे ५
– बिहीबार, 19 भाद्र, 2071