Ashesh Malla – Tathastu (Nepali Laghu Katha)

अशेष मल्ल – तथास्तु (लघु कथा)

रातको बाह्र बजेको थियो । कोठामा म थिए स्वास्नी थिई ।बिरामी र सोचिरहेको थिए अप्रेसनका लागि जुटाउनु पर्ने पाच लाख रुपिया कहाबाट ल्याउने ।एकाएक प्रकट भए भगवान् कोठामा । झस्किए । के भयो । के यो सत्य त हो । चिमोटे आफैलाई । रहेनछ यो कुनै सपना वा भ्रान्ति ।मुस्कुराउदै भने भगवानले, “ए । मनुवा के माग्छस् माग् ।”

“यो अप्रत्याशित क्षणमा म के मागूँ ”

“छिटो माग् ।” भने भगवानले ।

हड्बडिएँ शायद । के माग्ने ? बिल्डिङ, गाडी, पैसा ? सोचेँ “माग्छु पैसा ।” चाहिएको छ अप्रेसनका लागि, सुखी जीवनका लागि । तर कति माग्ने – दश लाख, पचास लाख, एक करोड, दश करोड –

“छिटो माग् समय सकिन लाग्यो ।” भगवान्ले घडी हेर्दै भने । एकै सासमा भने, “दश करोड रूपियाँ दिनुस् प्रभु ।” “तथास्तु ।” भगवान् बिलाए । एकाएक थुप्रिए करोडका नोटहरू । खुशीले उफ्रिएँ र उठाउन खोजेँ स्वास्नीलाई । क छोएको थिएँ स्वास्नीलाई, चिसो भइसकेकी थिई। नाडी छामे थिएन नाडी । थियो स्वास्नीको लास एकातिर । अर्कोतिर नोटका बिटाहरू थिए अनि थिए म बीचमा अवाक् ।

चिच्याएँ “प्रभु । मलाई स्वास्नीको जीवन दिनोस् ।” तर थिएनन् भगवान त्यहाँ ।

Kusum Gyawali – Ganatantra Ko Sanskirti (Nepali Laghu Katha)

कुसुम ज्ञवाली – गणतन्त्रको संस्कृति (लघु कथा)

लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।

लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -“मैले पनि अब त्यस भू.पु.राजालाई “तँ” भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु ” ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र “बिन्ति” चढायो । प्रवेश गर्न “अनुमति निगाहा” भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । “ए बले किन आईस यहाँ” । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -“मौसुफको पाऊमा दर्शन गर्न महाराज !” बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।