Yuddha Prasad Mishra – School Janchhu Tam Tam Tam (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – इस्कुल जान्छु टम् टम् टम् (नेपाली बाल कविता)

उठ्छु, पढ्छु कपडा फेर्छु
सफा सुघर भई ऐना हेर्छु
टफिनसाथको झोला भिर्छु
स्कुल जान्छु टम् टम् टम्

थोरै खोल्छु, धेरै पढ्छु
पाठ नबिर्सि अघि अघि बढ्छु
नभइ छाड्दिन म पनि फस्ट
कोभन्दा को छ र कम
इस्कुल जान्छु टम् टम् टम्

हिजो पढेको पाठ न बिर्सुं
भन्दै मनले सम्झिरहन्छु
पुस्तकहरूकन माया गर्छु
जतनसाथ अनि भिर्छु कलम
इस्कुल जान्छु टम् टम् टम्

“नबुझिकनको सुगा रटाइ
कामै छैन” गुरुहरू भन्छन्
“पाठ नबुझने लडकी” भनाउन
लाग्छ मलाई औधी सरम
इस्कुल जान्छु टम् टम् टम्

२०४५ असार १५
(बालकोसेली वर्ष ४, अंक ११)