Sarubhakta – Taapu

समय सरिसृप
रगतका हिसावहरु माग्दै
बाँदरका पहाड उक्लिरहन्छन्
नर्कटका घारीहरु
द्विविधाग्रस्त हुन्छन्
जुल्स वर्नका क्याप्सुलहरुमा
ठेगाना हराएको जिन्दगीमा
सुव्बाप्रजा र टिकामायाहरु
नाइटभिजन हेर्दै
मुक्तिका गिठ्ठा भ्याकुर खान्छन्
पेटहरु पैरवीमा छन्
खोई कहाँ हराए अपेक्षाका
सिबाकथ्रोनहरु ?
रडारको परिवृत्तभरि
उडिरहेछन् एम.आई २४ हेलिकप्टरहरु
सफ्टवेयरमा रेन्डियरका शिकार खेल्दै
तेस्रो पुस्ता – मोवाइल फोनका डाइनासोरहरु
टाइटानिक यात्रा गर्छन्
अनन्त लिङ्गेश्वरहरुको देश
करोनरी एन्जियोग्राफीमा किन रुन्छन्
अभिग्नोनका युवतीहरु ?
आह ! शान्तिका युद्धवन्दी छन्
वाघ भीमसिंहका सन्तानहरु
म कुन निर्जन टापुमा खोजुँ
म्यान्डेटका नेपापिटेकस् प्रजातिहरु ?