Sarubhakta – Pasabik Awataran

देश र दागवत्तीः अकष्मात् हराएका वा
बिर्सिएका सुन्दर विम्वहरुझैं
अर्ध–इन्द्रियका मानवहरु
वालुवाका पहाडहरु चढिरहेछन्
वफर जोनः सुरक्षा सन्त्रासहरु
सतत् कायरतापूर्ण हत्याका बहादुरीहरु
आउ जिन्दगीको कोर्टमार्शलमा
डमीहरुको जुलुस निकालौं
मौन आतङ्कः हदैसम्मको सजायँ जिन्दगी
सावधान, घेरावन्दी जारी छ
क्रासफायरिङमा नाङ्गामुखुण्डाहरु हिडिरहेछन्
एरोमाथेरापी – सुगन्धचिकिन्शा
मिलिसेकेण्ड मस्तिष्कहरुमा
ए ! यो देश त कन्सन्ट्रेटेड एपेडेमिक
क्षेत्र घोषित भईसकेछ
‘के नेपाली पनि वेश्या हुन्छन् ?’
मानवतस्करीका सञ्जालहरुमा प्रश्न गर्दैछन्
तरुलवादी शूक्ष्म जीवहरु
कम्प्युटरको माउससट्टश हृदयः छोराहरु
आमाहरुमा स्ट्रीप क्लव जन्माउँछन्
अनि शडकशडक देहव्यापारका कुरुप प्रतिश्पर्धा गर्छन्
थुक्क ! यो सूर्यको पनि कुनै विश्वास छैन
करङ र फोक्सो गुमाएर मरेका लक्ष्मीप्रसाद
र हृदयचन्द्रसिंहहरु
वर्वर युगमा शिष्ट–सभ्य सम्मानप्राप्त छन्
‘गाथगादी ताक्नेलाई यस्तै हुन्छ !’
सम्माननीय नरशमशेरहरु अद्यावधी
शहीदका कथा सुनाउँदै हिड्छन्
पासविक अवतरणः हामी विश्वप्रसिद्ध
गोर्खालीका सन्तान
निर्ममतामा विश्वरेकर्ड स्थापना गर्न इच्छुक छौं
आ कम्प्युटर, बुद्धिचाल खेलौं
अनि विर्सिदिऔं राष्ट्रका
मूर्खचालहरु