Sarubhakta – Khatara

मृत्युपर्वत
हिमयुगदेखि हिमयुगसम्म
आफ्नै भारले नुहेका चुलीहरु
साइवरयुगीन महाभारत रच्दैछन्
अन् लाइन च्याट्का हिमावर्तनहरु
नियति सञ्जालग्रस्त छन्
चतुर्थ महाकल्पका आविर्भावहरुदेखि
किन मानवता एक अन्त्यहीन युद्धमा
होमिएको छ ?
हेर ! हेर ! जीवाष्महरु
वटिकाष्म उपकरण बोकी डायनासोरस र
महागजहरुको सिकार गर्दैछन्
ब्रिडिङ वल ः अभिलक्षित राज्योत्पति सिद्धान्तहरु
इतिवृत्तमा हराएका छन्
विकसित वन्यजीवन प्रजातिहरु
कुन भष्मासुर अहंकारमा व्यस्त छन् ?
युगीन पासो ः जिन्दगीका युद्धयात्राहरु
रेनेसाँ मनका अनेक धुमकेतुहरु छन्
शान्ति कहाँ छ ? भए जीवाणु÷विषाणुहरुको दुनियाँमा छ
माउन्ट फुजीदेखि किलिमाञ्जरोसम्म
खतरामा परेका जीवहरु छन्
आह ! खतरामा परेका ईश्वरहरु
अझैपनि ईश्वरहरु जन्माइरहेछन्
आउ, फराउनका पिरामिडहरु हेरौं
एथेन्सका पार्थिनोनहरु घुमौं
दासविद्रोहका लाभाहरु पिऔं
अनि ग्लेडियटर भई रोमको कोलोजियममा
एउटा वर्वर मृत्यु मरौं ….
आह ! धर्मयुद्धहरु
चीनको महान पर्खाल कहाँ छ
सिवाय मान्छेको मनमा ?