Sarubhakta – Kalo Mrityu Ra Mithakiya Awasad Haru

रातका आँखाहरुः अचानोपीडा ग्रस्त छन्
सिंहहरु कहाँ निर्दयी हुन्छन् ? सिकारलाई
कति चाटीचाटी माया गरीगरी खान्छन्
राष्ट्रिय गिद्धभोजः अडियल प्रजातिका नरवानरहरु
महान क्रान्तिका तुच्छताग्रस्त छन्
शरणार्थी देशका शरणार्थीहरु
धु्रुवीय अरोराका कवितारचना गर्दैछन्
कालोमृत्युः विभीषिकाका युद्धहरु
स्वप्नचित्र वीथीहरु निर्माण गर्छन्
खोई कहाँ हराए तारापद चौधरीहरु ?
प्रत्येक दिन हामी वुद्ध जन्माउँछौ वुद्ध वलि दिन्छौं
अप्सरा आधातः मेगावक् ईश्वरहरु
हाइटेक प्रेम प्रणयग्रस्त छन्
साइवरयुगका नचिकेताहरु
प्रेतवाधा फुकाउँदैछन्
सुदूर सम्वेदनः सातौ इन्द्रिय उपासनाहरु
गोस्टापो संक्रमण व्यस्त छन्
उप्m ! सहीदका मृत्युवरणहरु
आर कि पारका संगणनहरुमा
जिवरिस् भायरस ग्रस्त छन्
ए धनकुवेर दार्शनिकहरु कता लागे
खट्खट् खट्खट् काठका घोडाहरु चढेर ?
उ ! जन्मान्ध यायावरहरु
तेजाब छर्किएका मनहरु हाँस्दैछन्
लोहोरो पाक्यो ? खाने कि पकापक्
आह ! मिथकीय अवसादहरुमा
साङलेकीराहरुको आक्रमण जारी छ
दुर्भाग्यका परिभक्षकहरुः कुन दायर
रीटका निरीहताहरु सुन्दैछन् ?
गजव विश्व, रोटीबाबाहरु मुसालाई रोटी
ख्वाउँछन् मान्छेलाई दोटी ख्वाउँदैनन्
त्रासदी समयः दादा अमिनहरुका
पुरातन प्रजातिहरु
आउ, हामी जन्मजात कमाण्डोहरु
टर्सो टाइगरमा आइस्टाइन गिदीहरु
मांशल पारौं
किलर निमोनियाः ताराहरुको भीडमा
पृथ्वी हराएकी छ
यसर्थ नारावाजी गरौं – कुकुरमन्त्री कोडाहरु
जिन्दावाद !
जिन्दावाद !
जिन्दावाद !