Sarubhakta – Kala Kala Din Haru Ko Samwaran

पहाडहरुको मृत्युः घाटेवैद्यहरु
रगतका वीभत्स छिटाहरु पोतेर
प्रेमपत्रहरुको तस्करी गर्दैछन्
फेरि युद्धविराम फेरि युद्धका सन्त्रासहरु
दुर्दान्त वैताल तालहरु
वन्दी वेपत्ता अनुष्ठानः मण्डलेदेखि कमण्डलेसम्म
दिमागमा खाक्सी लाएर
सफाया अभियान चलेको छ
उः ! सभ्रान्त भूतवङ्गलावासीहरु
सधैं गोलमेच सम्मेलनका तयारीमा छन्
हरे तिलौराकोट ! समयमाईको सेरोफेरो
भग्नावशेषहरुका चुल्हो बल्दैनन्
युग कक्कडे बूढाहरुको होइन साइवरे ठिटाहरुको हो
त्यसैले आउ, कालाकाला दिनहरुको संवरणमा
हामी एक रिक्त र अतिरिक्त देश सिर्जना गरौं
हल्ला व्यवस्थापनः गुणसुत्र नभएका मानिसहरु
पोष्टकार्डका हिमाल चढ्दैछन्
सारङ्गीहरु हाँस्न जान्दैनन्
वेताल कान्छाहरु गीतभनेर के–के हो
आवाज निकाल्दैछन्
मानिस के हो ? मानिस एक जैविक हतियार हो
युद्धमा जानु छ भने पहिले क्राइओ वैंकगई
आपूmलाई सुरक्षित पार
चिहानमा सुत्ने मन थियो चिहानपनि
वमले ध्वस्त छ
साले जिन्दगी ! प्रत्येक मानिस मर्दा मानिस मर्दैन
ईश्वर मर्छ, के भो र !
फेरि प्रेमदिवस ?
एक हुल पितृधातीहरु आमाहरुको बलात्कारमा निमग्न छन्
मार्कर स्टोनहरु हराएर
गोलार्धका सवै देश आमाहरुमा आँसुले
भिजेका छन् ।