बितोस् सन्ध्या मेरो एक नदीको किनारमा
होला घाम पश्चिमी बादलको पुछारमा
डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा
डुबेको हुँला म पनि एक गहिरो विचारमा
बितोस् सन्ध्या……..
पन्छीहरु सबै जालान् आफ्नो आफ्नो वासमा
एक्लै हुँला तर म त्यहाँ टाढाको आशमा
बितोस् सन्ध्या………
चिसो बतास आई फकाउला मलाई
तब उदय होला तारा मेरो पूर्वको दुवारमा
बितोस् सन्ध्या……
बादलको झ्यालमा जून झुल्की आउनेछ
ताराहरुले गीत एक नयाँ गाउनेछन्
आएर मेरो भविष्यको संसारमा
बितोस् सन्ध्या………
गुन्गुनाउनेछु म पनि हुँदैन हार मलाई
यद्यपि बित्दछ यो जीवन मेरो हारैहारमा
बितोस् सन्ध्या……….
Tag: Sahityakar Bhim Darshan Roka Ka Nepali Kavita Haru
Bhim Darshan Roka – Eklai Eklai Udaas Chhu Ma
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी तारा नउदाएको आकाश हुँ म
हिजो जहाँ आई बसेथिन् तिनी
त्यही उजडिसकेको बास हुँ म
एक्लै एक्लै उदास उदास छु म ।
कोही नदी किनार हुँ म
सधैँ पर्खिरहने प्यार हुँ म
कतैदेखि टाढा भए पनि
कतैदेखि बिल्कुल पास छु म
एकलै एक्लै उदास उदास छु म ।
Bhim Darshan Roka – Char Tukra
ताराहरुको आकाश बोलाउँछ मलाई,
यो कति टाढाको आश बोलाउँछ मलाई,
कहिल्यै पनि नफक्रिएको
कलि कलिको सुवास आउँछ मलाई ।
हृदयले आफूसँग राख्दछ मलाई,
बचपन बारबार छोई भाग्दछ मलाई,
जसलाई पनि हेर्दछु म
उसैले आई समात्छ मलाई ।
पिउँछु, पिउने मेरो बानी छ;
मस्त छु मग्न छु, बेहोसी मेरो कहानी छ;
जो लुटिएका छन् आउनू नजिक मेरो
कि जवान छु र जवानी छ ।
आकाशका सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि,
के रह्यो र अब मेरो मसँग
प्रियतम ! तिमीलाई आफ्नो भनिसकेपछि ।
Bhim Darshan Roka – Ek Yug Bhayo
एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु, साथी ! म हिँडिरहेछु
आरम्भ छाडी अन्तदेखि बेखबर !
एक युग भयो…
सधैँ बिहान हिँड्न थाल्दछु म
सधैँ साँझ, ताराहरु बाल्दछु म
सधैँ दिनको एकै अन्त देख्दा
किन हो किन लाग्दछ डर ?
एक युग भयो…
जहाँ जहाँ वास बस्दै जान्छु
ती सबलाई घर आफ्नै ठान्दै जान्छु
फर्र्कूँ यदि भोलि यही बाटो
गाह्रो पर्ला चिन्न मलाई मेरै घर !
एक गुग भयो…
Bhim Darshan Roka – Fewa Taal
पर्खिरहनू त्यो वनको किनारमा
मैरै प्रतीक्षा, मेरै विचारमा
फिँजाई थकिँदो आँचल आफ्नो
त्यो वनको छायाँको भारमा ।
बादलको सेतो डुङ्गा तर्छ यहाँ—
हिउँलाई बोकी हिमाल झर्छ यहाँ
पग्लन्छन् किरणहरु जताततै
घामले आफूलाई जब छर्छ यहाँ ।
हावाले पानीलाई तास्दछ यहाँ
लहर लहर आपसमा मिल्दछ यहाँ
हल्लाइदिन्छ हृदय मेरो—
गहिरो आकाश पनि हल्लिन्छ यहाँ ।
तिमी छौ र पँधेर्नीको बिहान छ यहाँ
चखेवा र चखेवीको मिलन छ यहाँ
पाइन्छ छायाँ पन्छीको पानीमा
आकाशलाई छुने उडान छ यहाँ ।
आँचल निकै समाली समालीकन
ताराहरुको लाखौँ पाला बालीकन
हेरिरहनू तिमी बाटो मेरो
लहर लहरमा माथा उचालीकन ।
Bhim Darshan Roka – Man Bhari Budhiya
बौद्ध मन्दिरको विशेषता
सन्तुलित, खँदिलो, बेजोड सीप कलाको
मन्दिरभित्र मन्दिरैमन्दिर
पत्रैपत्र चट्टान
टन्न बजिरहेको धातु
टम्म बसेको इँटहरुको बनोट
सधैँ अडिरहने अठोट ।
देखेँ–आँखाभरि लिएर
मनभरि बसालेर
हातैहातमा Continue reading “Bhim Darshan Roka – Man Bhari Budhiya”
Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain
नेपाल देख्दा कतै देखेको झैँ,
बिहान कतै आँगन टेकेको झैँ,
यस्तो लाग्यो हृदयमा मेरो,
सपनामा कतै भेटेको झैँ,
नेपाल देख्दा कतै…।
टाढा टाकुराबाट गाएको झैँ,
पहराबाट गोरेटो आएको झैँ,
यस्तो लाग्यो हृदयमा Continue reading “Bhim Darshan Roka – Nepal Dekhda Katai Dekheko Jhain”
Bhim Darshan Roka – Ritu Basanta Na Aayeko Bhaye
ऋतु वसन्त नआएको भए
तिमीले गीत मेरो नगाएको भए
गुराँस यति रातो हुने थिएन
तिमी यसरी नशर्माएको भए !
धर्तीले छातीमा फूल नलाएको भए
छहरामा लहराले चुल्ठी नबाटेको भए
यो वसन्तमा म के पाउने थिएँ ?
पोहर वसन्तमा तिमीले क्यै नलुकाएको भए !
वनले बस्ती नछोएको भए
मनमा मस्ती नआएको भए
फूलको प्याला रित्तिने थिएन
तिमीले यसरी नपियाएको भए !
Bhim Darshan Roka – Samaya Sandhai Aairahanchha
वरिपरि छेउछाउबाट
सजिला र अप्ठयारा ठाउँहरुबाट
वन पाखा पहरा
र हलुका सुस्केराहरुबाट
आइरहन्छ
समय सधैँ आइरहन्छ ।
पानी पानीमा बगेर
पात पातमा मस्केर
ऋतुहरुको आगमन
र तिम्रो आवाजबाट
आइरहन्छ
समय सधैँ आइरहन्छ ।
केही भन्न छुन्छ मलाई
केही बेर सुनिरहन्छ मलाई
मेरो श्वासमा लुटपुटिएर
मेरो क्षणहरुलाई लिएर
गइरहन्छ
समय सधैँ गइरहन्छ ।
मबाट उठेर
फैलिँदै माथि पुगेर
नीलो आकाश बनिरहन्छ
त्यही नै मेरो अतीत हुन्छ ।
Bhim Darshan Roka – Aaundo Khaadi
हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु
ठूलो यौटा खाडी देखी तर्सन्छु
कसरी हामफाली मैले पार गरेँहुँला
विश्वास हुँदैन, आश्चर्यले म उफ्रन्छु ।
हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु!
तर त्यो आइरहेको लामो ताँती
मानिसको Continue reading “Bhim Darshan Roka – Aaundo Khaadi”
Bhim Darshan Roka – Timilai Dekhda
सधैँ तिम्रै गीत गाउँछु
म सधैँ तिम्रै समीप आउँछु
तिमी टाढाबाट आइरहेकी अकेली
छेउमा पुगेपछि
मलाई चिनिसकेपछि
लहर बनछ्यौ
रुप–रङ्ग लिनछ्यौ
अनि समीपबाट तेजीले बगी जान्छ्यौ
तर केही टाढा पुगेपछि
किन दगुरी आएँ भनी
बिस्मातमा परेझैँ
पछिल्तिर फर्कने बहाना
खोजिरहेझैँ
तिमीलाई देख्दा लाग्दछ
जीवनभर तिम्रै किनार किनार
दगुरिरहुँ ।
Bhim Darshan Roka – Kaiyoun Baato Baata Aayeko Hoon
कैयौँ बाटोबाट आएको हुँ
कैयौँ गीत गाएको हुँ
पर्वत बनी उभिएको हुँ
नदी नाला बनी आएको हुँ
कैयाँै बाटोबाट आएको हुँ ।
हुरी बनी दगुरन्छु म
छायाँ बनी बिसाएको हुँ
यौवन बनी ढल्कन्छु म
माया बनी आएको हुँ
कैयौँ Continue reading “Bhim Darshan Roka – Kaiyoun Baato Baata Aayeko Hoon”
Bhim Darshan Roka – Timro Saamipya
जति जति म तिम्रो वर वर पुग्छु
लाग्छ उत्ति नै झन् पर पर हुन्छु
यो कस्तो सफर ?
मृत्यूभन्दा पनि पर
निकटताभन्दा कोसौँ दूर
जहाँ जीवन शुरु हुन्छ
म जन्मिरहन्छु जन्मिरहन्छु
मभित्रको बच्चामा ।
Bhim Darshan Roka – Mero Desh
जहाँ बादलले सधैँ बिसान पाउँछ
जहाँ पुग्न् बादलको उद्देश्य हो
त्यही एक एक खोला र
दुई दुई उकालाहरु मेरो देश हो ।
जहाँ बिहानले हिमालमा किरणहरु बिउँझाएको छ
नदी दुवै किनार समाती तल आएको छ
उभिइरहन्छन् बाँधिएका वनहरु
जहाँ ढुङ्गा र पानीले गीत गाएको छ !
जहाँ पर्वत उभी–उभी थाकेर
तल बेँसीमा आई बिसाएको छ
मेरो बर्सात आई रुझाउँछ मलाई
जहाँ पर्वतले पाल टाँगेको छ ।
Bhim Darshan Roka – Dunga Rakhe Jal Ma Timi Le
डुङ्गा राखे जलमा तिमीले
हातको पतवार दिउँला ।
उत्थान—पतनको माझमा
तूफानको किनार दिउँला ।
डुङ्गा अढ्यो भने कतै
लहरको पर्दा उघार दिउँला ।
दाउ हान्न नै आए मसँग
आफ्नो सवकुछ हार दिउँला ।
Bhim Darshan Roka – Ye Raat Ye Din Roka Roka
भीडैभीडले छोपेको, देखिन्न बाहिर
यो कहाँ हो, आइपुगेँ कहाँनिर
यसले कता पु¥याउन लाग्यो
अघि देखेको ठाउँजस्तो लाग्यो
बाटो एकदम फरक लाग्यो
चक्रपथझैँ घुमिरहेको
ए रात, ए दिन, रोक ! रोक !
म यहीँ ओर्लन्छु
गल्तीले यसमा बसेछु
कुन सुरमा चढेछु ।
अलि ढिलो भयो
बिहान रित्तै गयो
रित्तै भए पनि पुगिसकेको होला
म भरिदिन्थेँ
म पुग्न आएको थिएँ
पहिलो छुटयो, छुटिहाल्यो
समयले कति टाढा फाल्यो
अब अन्तिम आउन बाँकी छ
केही बेर त हो नि
जाने भए आऊ, म पर्खिरहेछु
म हेर्न आएको होइन
म पुग्न आएको हुँ ।
Bhim Darshan Roka – Laagi Rahechha Aago
आगो आफै त के लाग्ला
कसैको गल्तीले लागेको होला
अथवा जानी जानी कसैले लगाएको
त्यस्तो किन गरेको होला ?
सोध न सोध, केही त भन्ला ।
दीयो, चुल्हा र चिता
चकमक पत्थर र मैनबत्ती
यी हुन् सबै एकै समूहका
घामको परिधिबाट निस्केर
यहाँ आएको अग्नि
जानेर बाले घामजस्तै,
अरु पनि स्वभाव छ उस्तै
बलिरहन्छ यो चोइटा घाम
उदाइरहन्छ आफ्नै सीमाभित्र
छैनन् पनि छन् पनि यसको भित्र
अंश छ केही अवश्य मभित्र
दीयो बल्छ, पूजा हुन्छ
बत्ती बल्छ उज्यालो
मेहनत र मजदूरीले बल्छ चुल्हो
मरेपछि मात्र चिता
अग्निको अन्तिम आवश्यकता
आवश्यक परे सबैेले बाल्ला ।
Bhim Darshan Roka – Himal Bolaunchha
प्रिय !
जाऊँ हिँड त्यो ठाउँमा
जहाँबाट छर्लङ्ग देखिन्छ हिमाल
र शुरु हुन्छ यसको सीमाना
त्यहाँसम्म आई खोजिरहन्छ
तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयाँैँलाई !
सङ्लो, सङ्लो
शुभ्र, स्निग्ध
बसिरहेको……… उठिरहेको
आफ्ना चुली आफै पार गरी गरी
सयौँ पर्वतसम्म गएको
ऐनैऐनाको स्निग्ध हेराइमा
बोलाउँछ
आफूले आफूलाई हेर्न
तिमीलाई, मलाई र हामीजस्ता कैयौँ कैयौँलाई !
Bhim Darshan Roka – Timro Bichar Ko Ghera
धरतीको फराकिलोपन, तिम्रो विचारको घेरा
उठिरहन्छ, चुपचाप पातलिँदै जान्छ
इशाराभन्दा पनि पातलो,
मीठो बोली–वचनभन्दा पनि हल्का
रेशममा रेशम राखेजस्तो
सधैँ मलाई छोइरहन्छ
आकाशका यी रुपरेखा !
परेवाको बथान खाइरहेको कावा
बिहानीपखको हावा
लहरपछि लहर, आफ्नोपनको
कलिलोपनमा यौवन अडेको
परिपक्वतामा पालुवा पलाएको
तिम्रो जानु र आउनु
यता उता, दश दिशा,
सधैँ मलाई छोइरहन्छ
आकाशका यी कोठैकोठा !
Bhim Darshan Roka – Ko Aaunchha Mero Geet Khosna
को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न,
सीमा नै टपिसकेको छु मैले,
को आउँछ मेरो जीत खोस्न ?
को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न ।
वर्तमान तिम्रो छ,
भविष्य मेरो होला,
को आउँछ मेरो अतीत खोस्न ?
को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न ।
प्यार नै मेरो आरम्भ थियो,
प्यार नै मेरो अन्त होला,
को आउँछ मेरो प्रीत खोस्न,
को आउँछ मेरो गीत खोस्न ?
एक्लै सफरमा मेरो मीत खोस्न ।