Niroj – Lekhina Nasakeko Katha

निरोज – लेखिन नसकेको कथा

ति दुर्दिनका भोगाईहरु
कुन्नी किन हो?
छाईरहन्छन्―दृश्य बनेर
रसिला रसिला आँखाहरुमा
आईरहन्छन्―पूर्वस्मृति बनेर
कैदी मनको बिस्फारित छालहरुमा
अन्तर कुन्तर र सबै तरेलीहरुमा
सिङ्गै कथाका प्लट बोकेर।

तिमै्र आग्रहमा त हो नि मैले पाहाड चढेको
खाली खुट्टै कयौ काँडाका भर्याङहरु पार गरेको
तिमीले नै त हो उत्पेरित गरेको
सबै सबै सपनाहरुमा आँगो झोस्न
हो साच्चै मैले जितेको थिए
मेरो खुशीहरुलाई ठाउँ बनाउन
हठात् तिमीले नियम बदल्यौ
र बदल्यौ रुप
अनि त के चाहियो?
तिमी आफ् नै मनमौजीमा छौ
तर तिम्रो हुनुको दस्तुर खोज्दा
आफ् नो जितको प्रमाण खोज्दा
म पागल कहलाईन्छु
म आवरा कहलाईन्छु।

आश्वाशनका डोकाहरु
राखेर दोबाटोमा
भो नलोभ्याउ अरु धेरै ग्राहकहरु
विद्रोहमा तिम्रो साम्राज्यको झण्डा उखेले भने
फेरि कहाँ छ तिम्रो जाने ठाउँ?

तिम्रो शासकले मेरो
कलकलाउँदो प्रेमलाई
यौवनमै फाँसी दिन्छ
यद्धपि तिमी त्यही
कोमल, चञ्चल र सुन्दर नारी भईरहन्छ्यौ।

यो पुरानै मान्यता नभत्काई
एकान्त र सुनसान साझमा सधैँ
आँउछन् आईरहन्छन् कथाका प्लटहरु
तर म कत्ति लेखिन सक्तिन
कथाका हरफहरुमा
आफ्नै मान्यताहरुलाई
बलत्कृत बनाएर।

मेरो स्वभावमा तिमी नमिल्दा पनि
मेरो मान्यतामा तिमी नअटाउँदा पनि
तिमीलाई आफ्नो ठानेर
प्रशस्त… प्रशस्त आलोचना गर्छु
तिम्रा सबै बहुलठ्ठीपनहरुको
तिम्रा सबै अहङ्कारहरुको
जस्तै लेखिन नसकेको कथाले
तिमीलाई प्रेम गरे जस्तै
धेरै पे्रम गरेर पनि।

Krishna Kusum – Samaya Ra Ghoda Daud

कृष्ण कुसुम – समय र घोडादौड
(मधुपर्क २०६६ चैत)

वर्षौँदेखि उसैगरी
दौडिरहेछन् -टुँडिखेलमा घोडाहरू !
घोडचढी सिपाहीहरू
हातमा लगाम लिएर दौडाइरहेछन्
आ-आफ्नै घोडाहरू
विजयी हुने होडमा !
पहिले पहिले
राजामहाराजाहरू सवार हुन्थे र
नजर गर्थे घोडेजात्रा
तर आजभोलि
भैंसी गोठालाहरू
साधारण किसानका छोराहरू
आउँछन टुँडिखेल
अनि हौंस्याउँछन् खेलाडीहरूलाई
समय र घोडचढीहरू
उस्तैउस्तै रहेछन् आखिर !
घोडचढीहरू लगामले
आफ्ना घोडा दौडाउँछन्
र समय आफ्नो लगामले
समाजलाई दौडाउँछ
आफ्नो रफ्तारसँगै
समय र घोडाको
यो दौडा दौड हेरेर पनि
म आफू असमर्थ छु निक्र्यौल गर्न
समयको रफ्तारमा दौडिरहेछ घोडा
वा घोडाको रफ्तारमा दौडिरहेछ समय ??

नुवाकोट

Tanka Subba – Columbus Paila

टंक सुब्बा – कोलम्वस पाइला

हिड्दै छु म अनन्त यात्रा
पछ्याउँदै कोलम्वस पाइला
विना तयारी
विना कम्पास
विना मार्गचित्र
वढ्दैछु निरन्तर गन्तव्य छुनलाई
हुनत लक्ष्यसम्म पुग्नलाई
सम्भावनाका धेरै वाटाहरु हुन्छन्
मात्र धैर्यता खाँचो हुन्छ
मात्र आत्माविश्वासको अवश्यकता हुन्छ
चाहेपछि अवश्य पुगीन्छ
यात्राहरु वेग्ला वेग्लै हुन सक्छन्
वाटोहरु फरक फरक हुन सक्छन्
मात्र गन्तब्यमा पुग्नलार्इ
कोलम्वस पाईला पछ्याउँन सक्नु पर्छ
त्यसैले त हरेक दिन कठिनाइहरु पन्छाउँदै
तेहिँनेर पुगौ भन्छु
जहाँवाट सपनाहरु झुल्कन्छन्
कहिल्यै नपुगेको ठाउँ पुग्नलाई
अन्दाज गर्दै यहाँ सम्म आइपुगेको छु
थाहा छैन अव वाटो कतातिर मोडिने हो ?
थाहा छैन अव यात्रा कतातिर लम्किने हो ?
तर मलाई विश्वास छ
कुनै नयाँ दृश्य देखिनेछ
कुनै नयाँ गन्तब्य भेटिनेछ
त्यसैले त हतारिंदैछु
नयाँ पलहरु छुने उमाङ्ग बोकेर
म कोलम्वस पाइला पछ्याउँदैछु
अनेकौ अभिलाषा र अठोट वाधेर
पछ्याउँनुलाई जीवनसँग गाँसेकोछु
हरेक दिन कोलम्वसले झैं
गोलव्रम्हाण्ड रिङदैछु नयाँ गन्तब्यको खोजीमा
निरन्तर निरन्तर
पुग्नुको असीम तिर्खा वोकेर
हिडिरहेछु लामो यात्रामा
विना तयारी
विना कम्पास
विना मार्गचित्र
कोलम्वस पाईला पछ्याउँदै
गन्तव्यमा अवतरण हुनलाई

Saroj Dhital – Maanis Ra Gidda

सरोज धिताल – मानिस र गिद्ध

‘अधिपति हुं
सिङ्गो आकाशको’
भनेझैं गरी
फिंजाएर आफ्ना
भीमकाय पखेंटाहरू
उड्दै आयो
त्यो
गिद्ध
चीसो ठिहि¥याउने छाया“ फ्या“क्दै
धरतीका तरेलीहरूमा
र बस्यो
थपक्क
अन्धकारमा उभिएको विशाल खण्डहरमाथि

उज्यालोको सानो टुक्रा खोज्दै
अन्धकारको अर्को कुनामा
यत्नसाथ हि“डिरहेको
मान्छे
झस्कियो भयले
थर्रर काम्यो चिन्ताले
रोयो ऊ पीडाले
ही दिनपहिले
ऐनामा
त्यस्तै–
त्यो गिद्धको जस्तै
देखेथ्यो उसले आफ्नो अनुहार

उसको त्यो भय
उसको चिन्ता
उसको त्यो पीडा
एक ढिक्का भयो
अन्तर्मनको आगोमा पग्लेर
च्याप्टियो आत्माभित्र पेलिएर
अनि तरवार बन्यो– मन्जुश्रीको झै“
धारिलो

झिलिक्क बिजुली चम्के झै“
काटियो एउटा गल्छी
अन्धकारको त्यो राज्यमा ।

प्रस्फुटित हुन थाल्यो जब
त्यस गल्छीभित्र
सानो अङ्कुर सुन्दरताको
अनि देख्यो मानिसले
उज्यालो
विस्तारैविस्तारै जो हुर्कि“दै थियो
उसको गहिरो पीडास“गै

गल्छीपारि खण्डहरमा
गजक्क परेर बसेको गिद्ध
उज्यालोको प्रस्फुटनदेखि
बिल्कुल अनभिज्ञ
अझै फड्फडाउ“दै थियो पखे“टा
घमण्डले
रमाउ“दै अन्धकारमा

यो देखिरहेको मान्छे
निःशब्द प्रार्थनामा
पीडाको दियो बालेर
चुपचाप चिच्याइरह्यो

ईश्वर !
देखोस् न त्यसले पनि
यो दिव्य सुन्दरता !

Madhushree – Hami Nepali

मधुश्री – हामी नेपाली

हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।
पसिना र सिप घोली रंग्याउँनेछौँ देश हाम्रो ।।

सँगै ईँटा पोल्छौँ कतै सँगै गारो लाउँछौँ हामी ।
नभएत भोकै बस्छौँ हुँदा बाँढी खान्छौँ हामी ।।
सानो ठूलो भन्नु छैन समानता सत्य राम्रो ।
हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।

यौटा दुख्दा देश दुख्छ हाँस्दा हाँसो छाउँछ सँगै ।
बैरीहरू बिलाउँदै खुशीयाली आउँछ सँगै ।।
दास हुन्न मालिक नि मात्र नेपाली हो राम्रो ।
पसिना र सिप घोली रंग्याउँनेछौँ देश हाम्रो ।।

मित्रता र मानवता गाँसी माला बनाउँनेछौँ ।
हात माथि हात राखी आफ्नोपन जनाउँनेछौँ ।।
हृदयमा प्रेम भाव उमारेर सार्छौ हाम्रो ।
हामी आफैँ श्रम गरी सजाउँनेछौं देश हाम्रो ।

Indra Kumar Sunuwar – Prashna Haru

ईन्द्र कुमार सुनुवार – प्रश्नहरु

सागरको गहिराइ लाई सोधे
तिमी गहिरो कि मेरो माया?
मेरो तटमा त पुग्छौ तिमी तर
पुगी आऊ पैले मुटुको दायाबाया!

आकसको उचाईलाई सोधे
तिमी उच्च कि मेरो भावना?
नक्षत्र तिमी पुग्न सक्छौ तर
बद्लिने मनको हुन्न ठेकाना

बनको घना बृक्षहरुलाई सोधे
तिमीहरु ठूलो कि मेरो त्याग?
मलाई काटी छोट्याउन सक्छौ तर
तिम्रो स्वार्थ हुनेछ जिन्दगीको भाग!

हिउदमा शितको थोपाहरुलाई सोधे
तिम्रो मात्रा धेरै कि मेरो अश्रुधारा?
हत्केलाले पुछेर मलाइ पुछ्छौ तर
हासो सगै आशु पनि हो जीउने साहारा!

Gopal Parajuli – D.C. Ma Mero Prabesh

गोपाल पराजुली – डी.सी. मा मेरो प्रवेश

टनी मरिसनको परिचय आँखामा राखेर
डी.सी. हेरिरहेको म
काला जातिको संवेदनालाई
मरिसनले
र मेरा आँखाले
मेरो देशको संवेदनालाई
पुनर्जीवित गरेर
म कसरी बाँच्न सक्छु
अमेरिकालाई हेरेर
आफैँतिर फर्किरहेछु
शत्रुहरूको खराबीको भविष्यवाणी गरेर
र शत्रुहरूले
मानिसहरूलाई हेरेर ताकेका
बन्दुक हेरेर
आँखाको उच्चतम शिखरमा बसौँ
कि आधुनिक संवेदनालाई आत्मसात् गर्दै
आधुनिक अमेरिकाको जीवनलाई समाएर
विश्वलाई स्वतन्त्रताको भाव दिन सक्ने
कथा कविता लेखौँ
मेरो र देशको मौनताको बीच
उठ्न सक्ने
सबै पर्खालहरू ढालेर
मलाई मेरो कवि दिन सक्ने
समयलाई
र मेरो मनमा हुर्किएको
कुनै नवागन्तुक योद्धालाई
परिचयका साथ
साथमा लिँदै
असल खराबका बीच हुर्किएको
एउटा संसार
आफैँले राख्नका लागि छानौँ
कि जीवनको व्यापकतालाई
अमेरिकातिर हेरेर
देशलाई दिउँ
र सम्झनलायक समयको
प्रशंसामा
अमेरिकामै बसेर
अन्तिम कविता लेखौँ
म मानवीय संवेदनाको स्वर
मैले मलाई बाँच्न दिएको जीवनमा भरौँ
र आˆनै कविलाई
आफूसँग खोसेर
अमेरिकी भूमिमा उभिएर
संसारलाई दिऊँ
कि प|mस्ट हेमिङ्वे
हृविटमनहरु
शताब्दीको र मेरो भएको
खुलासा गर्दै
आˆनो सूचना लिन
नेपालबाट
अमेरिका प्रवेश गरेको कुरा
घोषणा गरौँ
कि अमेरिकाकी
कुनै कवयित्रीको गर्भबाट
बुद्ध झिकेर
यो संसारलाई दिन चाहन्छु भनौँ
र हातमा अस्त्र नहुनेहरुलाई
जीवित राख्न
यो संसारमा
एउटा असल मानिस जन्मनु
जरुरी छ भनेर
बिहान उठ्ने बित्तिकै
कविताको अन्तिम हरफमा
सही गरौँ
बन्दै गरेका
प्रश्नहरुलाई आँखामा राखेर
मेरा सबै उत्तरहरुलाई प्रतीक्षाबाट झिक्न
र बाँकी प्रश्न नगर्न
मेरो कविलाई हेरिरहेछु ।

-वुडबि्रज, भर्जिनियाँ,
अमेरिका, नोभेम्बर-६, २००५

Saroj Dhital – Pidaa Nilkantha Ko

सरोज धिताल – पीडा नीलकण्ठको

हे महादेव !
ए शङ्कर !

भन त नढाँटी,
दुख्दैन के साँच्चै त्यो नीलो घाँटी ?

कि तिमीसँग पनि छ
हिउँ जस्तो कुनै चीसो पीडा
जसले काठिएको छ
तिम्रा चीसो छाला
र तिमीलाई दुख्दै–दुख्दैन ?

या कुनै लेप छ तिमीसँग
निस्पृहाको
जसले लेपिएको छ तिम्रो बुढो गला
र विषले तिमीलाई पोल्दै पोल्दैन ?

ए शङ्कर !
म मान्छे तिमीसँग सोध्दैछु
भन त नढाँटी
के तिमीलाई रिस उठ्दैन ?
जब भक्तहरू आएर प्रार्थना गर्छन्
र भन्छन्–
“हे प्रभु !
फेरि एकचोटी पिई देऊ न हलाहल
जो निस्किरहेछ मेरै जीवनबाट
मन्थन भएर मेरै पापको डोरीले ”

जनवरी, १९९९

Manjul – Tyo Keto

मंजुल – त्यो केटो

ती प्रधानाध्यापक
(भैगो, प्रधानाध्यापकको बेइज्जती नगरुँ
प्रधानाध्यापकको गरिमा बोक्न सक्दैन त्यो मान्छे
प्रधानाध्यापक त ती पनि हुन् जसले मलाई
यो कविता लेख्न सक्षम बनाए ।)

त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो
मुठीभरि पार्न चाह्यो
किचिमिची पारेर पिस्न चाह्यो
त्यस मान्छेले त्यो बालकलाई
आफ्नो हातले समात्न चाह्यो

तर त्यो बालक त्यो बालक मात्र होइन
सडक पनि हो
शहर पनि हो
सम्पूर्ण क्षितिज र विशाल आकाश पनि हो
त्यो मान्छे शहरको सानो घरको एउटा सानो
ईंटालाई त मुठीभरि पार्न सक्दैन
के समात्न सक्छ त्यत्रो विशाल आयतनलाई ?

त्यसकै अगाडि त्यही क्षण
(जब त्यसले केटालाई माखी सम्झेर मिच्न खोजेथ्यो
त्यो केटो फुकेर, फैलेर अरु केटाहरु भयो
सडक भयो
शहर भयो
र आकाश भएर टाँगियो मान्छेहरुको शीरमाथि सगर्व

बहादुरहरु यसरी नै फैलन्छन्
र जुलुस यसरी नै अघि बढ्छ
नारा यसरी नै चर्कन्छ
र त्यो केटो र ऊ जस्तालाई माखा संझेर दबाउन चाहनेहरु
देख्दादेख्दै सबैको अगाडि सडकमा पछारिन्छन्
र माखो बन्छन्

सच्चा विद्यार्थीहरु त्यस्तो स्कूलको खोजीमा हुन्छन्
जहाँ जीवनलाई जीवन जस्तो गरी बाँच्न सिकाइन्छ
मान्छेलाई मान्छे जस्तो गरी बाँच्न सिकाइन्छ
मान्छे र स्वतन्त्रता
के यी दुई कुरा एक अर्काेबाट छुट्ट्याउन सकिन्छ ?
अँध्यारो, केवल अँध्यारोले मात्र मान्छेको
छाँयालाई लुकाउन सक्छ
तर बत्ती बलेपछि हिड्डुल गर्ने मान्छेहरुको
मात्र होइन
निश्चल उभिएका चिजबीजहरुको पनि छायाँ देखिन्छ
मान्छे र उसको छाँया जस्तै हो मान्छे र उसको स्वतन्त्रता
त्यो केटो
जो बाँच्यो मान्छेको हृदयमा
के त्यसलाई किचिमिची पार्न सकिन्छ ?

त्यो केटोलाई मारेर पनि
अब त्यो कुरा प्राप्त गर्न सकिंदैन
मान्छेलाई मार्न सकिन्छ, म मान्छु
तर मान्छेको हृदयलाई मार्न सकिंदैन
मरेर गएका
तर आफ्नो क्रियाकलापमा, कृतिहरुमा र आप्mना
जनताहरुको माझमा
बाँचिरहेकाहरुलाई हेर

जो अमर छ, त्यसलाई किचिमिची पार्न खोज्छ
तुच्छ, मरणशील
एउटा माखो !

Indra Kumar Sunuwar – Timile Birsi Deu

ईन्द्र सुनुवार – तिमीले बिर्सिदेऊ

आँशु झर्छ थोपा थोपा नयनबाट
नरोक यसलाई निरन्तर बहन देऊ
मनको मैला पखाली लान्छ
आँशुसँगै पिर ब्यथा पोखिन देऊ

नजोड टुक्रिएको काचका टुक्राहरू
फोहोर मैलाको ढ्वाङमा मिल्काई देऊ
कुरेर नबस आकासे चङ्गालाई
छिनियो डोरी क्षितिजमै उड्न देऊ

नहाल पानी ओईलिएको बोटमा
सुकेछ जरा बिस्तारै ढल्न देऊ
सुन्दर सपनाको महलहरू जलेर गए
रहेन केही, सबै कुरा तिमीले बिर्सिदेऊ

Rakesh Karki – Piundina Bhanda Bhandai Alikati Pilai Diyou

इन्जिनियर राकेश कार्की – पिउदिन भन्दा भन्दै अलिकति पिलाई दियौ (गजल)

पिउँदिन भन्दा भन्दै अलिकति पिलाई दियौ
थपुँ थपुँ लाग्ने गरी यस्मा यो के मिलाई दियौ

अब दु:खेन यो छाती दु:खेन चित्तको घाउ नै
कस्तो नशा हो जादुको यो हृदय सिलाई दियौ

चाँद पनि हाँसे जस्तो तारा सबै नै नाचे जस्तो
मधुरो मैन बत्तीमा अति मजा दिलाई दियौ

छामुँ छामुँ लागी रह्यो खुशीहरु भेटिए जस्तो
सुस्त छुँदा औँला भित्रै स्पर्शमा बिलाई दियौ

लस् एन्जेलस्

Hem Nath Ghimire – Chhati Bhitra Desh Dukhchha

हेमनाथ घिमिरे – छातीभित्र देश दुख्छ

राति निदाउँदा पनि मन आफ्नै देश पुग्छ ।
बिदेशमा हुँदा पनि छातीभित्र देश दुख्छ ॥

अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ ।
दुःख बिसाउँदा पनि छातीभित्र देश दुख्छ ॥

हाना-हान नगरेर द्वेश-ईष्र्या भुले पुग्छ ।
लुछा-चुँडी सुन्दा पनि छातीभित्र देश दुख्छ ॥

सबै मिली देश निम्ति दिल थोरै खोले पुग्छ ।
सीमाना त्यो छुँदा पनि छातीभित्र देश दुख्छ ॥

गाउँ-बस्ती गरीबका निम्ति केही बोले पुग्छ ।
ताना-बाना बुन्दा पनि छातीभित्र देश दुख्छ ॥

अरु पछि मागौँला है ऐले सबै मिले पुग्छ ।
जहाँ जो नै रुँदा पनि छातीभित्र देश दुख्छ ॥

हेमनाथ घिमिरे
बाहुनडाँडा लमजुङ् ।

Rakesh Karki – Maya Timile Chhode Pachhi

इन्जिनियर राकेश कार्की – माया तिमीले छोडेपछि (गजल)

माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई

म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओडेपछि नसोध मलाई

मनको बिरुवा उखेलेर Continue reading “Rakesh Karki – Maya Timile Chhode Pachhi”

Sarita Tiwari – Buddham Sharanam Gachchhami

सरिता तिवारी – बुद्धं शरणम् गच्छामी

कहाँ हुदो रैछ र थकान
आस्थाले घ्च्घच्याएपछि
बिस्वासले डोर्याएपछी

मैले अक्षरहरु जस्तै पाइला टेकें
पद्चाफारू हिड्यौं

आरोहण गर्दै कविता प्रदेश
यात्राको टुंगोमा
जब मैले
पध्मासिन बुद्धलाई देखें
मलाई लाग्यो
यदि नदि कबि हुदो हो त
कविता यात्रामा
हामिसंगै उकालो लाग्दो हो

ओयो सुर्म्यशैल प्रदेशमा
मकविता लेख्छु
बुद्धम शरणम् गच्छामी

सुरभिहरुमा अप्रतिम सुरभी
आँखाहरुमा बिराट र प्रदीप्त आँखा
जो बन्द गर्दा तत्वज्ञानीहरु
जीवन दर्शनको गहिराइमा पुग्दछन
जो उधारेर मुस्काउँदा
असंख्य दिब्य प्रभा खुल्दछन्

मेरो देशको गौरब – बुद्ध
संसारको सौरभ – बुद्ध

कहाँ हुदो रैछ र थकान
आस्थाले घ्च्घच्याएपछि
बिस्वासले डोर्याएपछी

२०५५/ १/२१

Sarita Tiwari – Kramasha Jiwan Kabita Bhitra

सरिता तिवारी – क्रमश: जीवन कविताभित्र

मलाई आफ्नै आँखाले भेट्टाएका
क्षितिजहरु मन पर्दछन
चाहे ती जतिसुकै सुदूर किन हाहोउन
मलाई आफ्नै पौरखले चुल्याएका
आस्थाहरु मन पर्छन
चाहे ती चट्टानी पहाडहरुझैं
कुरूप किन नहोऊन

मलाई
आप्ठेराहरु मन पर्छन
जोखिमहरू मन पर्छन
अचेल त झन
अनास्थाक असुरक्षित सडकहरुमा
एकलै धावा बोल्दै
हिड्न मनपर्छ मलाई

मलाई सम्झना छ
मैले ककटेल सभ्यता पिएको साँझ
मेरा आँखाहरु म बाट छुट्टिएका थिए

आत्माले सम्बन्ध-बिच्छेद गरको थियो
मैलेआफ्ना आँखाहरुसंग घुँडा टेक्तै
प्याला फालिदिएँ

आत्मासंग माफ मांगे

त्यो बिहानी थियो
त्यहा कविता थियो

मैले यावत किरणहरु पिएर कविताका
जिन्दगीको बाटोमा नवीन यात्रा
सुरु गरेदेखी
मलाई
संघर्षहरुमन पर्दछन
स्वाभिमानका दिग्विजयी शिखरहरु उक्लदै
मलाई
कविताका मुस्कानहरुसंगै हाँस्न मन पर्छ

आमा !
मलाई बाँच्नका निम्ति
दीर्घायुको आशिर्बाद नदिनु
मलाई कविताका जीवनहरुसंगै
बाँच्न मनपर्छ

२०५५/१०/०३

Biplav Pratik – Awaj Ko Pida

बिप्लव प्रतिक – आवाजको पीडा

यतिखेर ओठ सिइएको छ मेरो
टम्म पारेर छिद्रविहीन
चर्कंदो छ छातीको घाउ र रसाइरहेछ रगत
ओठको कापबाट
गुनासो यति मात्र कि छातीको घाउचाहिँ यथावत् रहृयो
गुनासो यति मात्र कि अब पीडाको आवाज निलम्बित भयो ।

आवश्यकताहरू कहिलेकाहीँ गाँसभित्र मात्रै कैद हुन सक्तैनन्
आवश्यकताहरू सधैँ बासकै मात्र हुँदैनन्
आवश्यकताहरू कपासको मात्रै नहुन पनि सक्छन्
सजायले स्वाभिमान निल्न सक्तैन
र सयचोटि मर्नका खातिर
मान्छे कहिल्यै एकपटकका निम्ति बिउँझन हुँदैन ।

आवश्यकता मलाई त, विचार, क्रियाशीलता र बोलीको छ
मलाई बोली फिर्ता देऊ
मेरो छाती दुख्दैछ पीडाले ।
यो पीडा र दुःख
बोली र विचार अभिव्यक्त गर्न नसक्नुको हो
ए, मेरो आवाजका कारण मलाई लखेट्नेहरू !
मेरो छातीको पीडा तिमीहरूले बुझन सक्ने छैनौ ।

मलाई घाउबारे बोल्नु छ
मलाई दुखाइबारे बोल्नु छ
तर, छातीको घाउ नबोल्न
पीडा झेलिरहन र देखाउन नसक्न
यतिखेर ओठ सिइएको छ मेरो टम्म मिलाएर ।

तर, अहिले मेरो आवश्यकता नै बोली हो
यतिखेर मलाई मेरो आवाज फिर्ता चाहिएको छ
मलाई अभिव्यक्तिका लागि पर्याप्त वाणी चाहिएको छ ।

नयाँसडक, १४ अप्रिल १९८७

Bibek Dulal Chhetri ‘Damak’ – Uni Lai Samjhera Mero Shanadpatra

विवेक दुलाल क्षेत्री “दमक” – उनीलाई सम्झेर मेरो शनदपत्र

खान्न खान्न भन्दा भन्दै पनि
खाइ सकेको छु मैले
प्यारी तिम्रो कसम ..!
जान्न जान्न भन्दा भन्दै पनि
घुमिसकेको छु मैले
प्यारी तिम्रो प्रेमको बगैचा..!!

एउटा जून आकाशबाट तल झर्छ
र रोज मलाई स्पर्श गरेर जान्छ
उ गएको हेरीरहन्छु
तिमीलाई देख्छु
उ आएको सम्झिरहन्छु
तिमीलाई भेट्छु

त्यो बेला
हेर्दिन हेर्दिन भन्दा भन्दै पनि
हेरी सकेको छु मैले
प्यारी तिम्रो चंचल अनुहार .

म एक पठ्ठो घाम
तिम्रो देहमा बिलिन हुदैछु
खुशीको दुनियामा ,तिमीसित हिडदैछु
अनि कालो ,सेतो ,पहेलो
र रातो रंग भएर पोतिदैछु
तिमी प्रतिको लगावले

यो क्षणमा
ढल्किन्न ढल्किन्न भन्दा भन्दै पनि
ढल्की सकेको छु मैले
प्यारी तिम्रो न्यानो काखमा.

अब अप्ठ्यारो नमानेस्
अब अपवित्र नठानेस्
प्रेम र स्मृतीको कन्चन साइनो लिएर
म फर्की सकेको छु अहिले
आफ्नै यथास्थितीको अधार शिबिरमा
आफ्नै दिनचर्याको ग्रामबेशीमा

तर अझै पनि भन्छु
यो सत्य हो कि
खान्न खान्न भन्दा भन्दै पनि
खाइ सकेको छु मैले
प्यारी तिम्रो कसम ..!
जान्न जान्न भन्दा भन्दै पनि
घुमी सकेको छु मैले
प्यारी तिम्रो प्रेमको बगैचा .

अस्तु :
दमक ,झापा
हाल :अबुधाबी ,यू ए इ .

Purushottam Dahal – Andhakar Ko Yatri

पुरुषोत्तम दाहाल – अन्धकारको यात्री
(Source: मधुपर्क साउन, २०६७)

पेट खाली थियो तर खाने केही थिएन
आज थाल भरी छ खाना
अरुचिले अघाएको छु, भोक हराएको छ ।
परिवार बसाउन घरबास खोज्दाखोज्दै
सबै क्षणहरू, समयहरू, दिनहरू कटे,
अहिले परिवार बसेको छ, उमेर घटेको छ
आयु आफैँ किनारा लागेको छ ।
आज म अन्धकार छाम्दै हिडिरहेको छु
आँखाहरू हुँदा दृश्यहरू थिएनन् र
फूलवारी, बगैँचाहरू, पहाडपर्वतहरू
नदीनालाहरू, वनजङ्गलहरू
गाउँ, सहरबस्तीहरू, भूमण्डल, ग्रहहरू
मेरा वरिपरि छन् म उनीहरूसँगै छु ।
तर के गर्नू ? मसँग आँखा छैनन्
अनुमान गर्न सक्छु, अनुभव गर्न सक्दिन ।
आनन्दबोध गरेझै हुन्छ, खुसी हुन सक्तिन ।
बाटो खन्दाखन्दै जीवन गयो
माटो बोक्दाबोक्दै सन्ध्या सुरू भयो
तर त्यो बाटोमा हिड्ने रहर कि भोक
आफैँ खुम्चिएर रहृयो र मर्दै गयो ।
मेरा पसिनाका थोपाहरूले
जसलाई सम्याउने काम भयो
मेरा आकाङ्क्षाहरू ज्ाहाँ आकार आधार थिए
मेरा सपनाहरूले जहाँको खाल्डाखुल्डी पुर्ने काम गरे
दिनरात। भोक-तिर्खा, घाम-पानी अँध्यारो-उज्यालो सबै खेप्दै
आज म त्यसलाई देख्न छाडेको छु ।
हिड्न सक्तिन् त्यो बाटो ।
भोग गर्न सक्तिन म निर्माता ।
मलाई चोर औँलो देखाएर जिस्काउँदै
बाटोमा दगुर्ने साना नानीहरू
मेरा पछि लस्करै आउँदै गरेकाहरू
फटाफट पाइला चलाइरहेका छन् ।
मैले बनाएका धारोहरूमा
तिर्खा मेट्दै हिड्नेहरू, गन्तव्य हेरिरहेछन् ।
म निर्माता, भोकाएको र तिर्खाएको जान पनि सक्तिन ।
एक बूँद पानी दिने फुर्सद कसैले देखाउन सकेनन् ।
पानी बोकेर हिड्नेहरू सुरूसुरू हिँडिरहेछन् ।
ती मलाई देख्दैनन्,
सायद मेरो याचना कसैलाई थाहा भएन क्यारे ?
जीवन यतै कतै अल्भिmएको छ ।
महासागरभित्र डुबुल्की मार्न उद्यत, शीतको सानो विन्दु,
कहाँ पर्छ ? कहाँ खस्छ ? र कहाँ हराउछ ?
आवृत्त आकाङ्क्षा, अनावृत्त तृप्ति
अन्धकारको म यात्री थाहा छैन
अबको मेरो आफ्नै बाटो, सम्झेर पनि हिँड्न सक्तिन्
हिजो आफैँले बनाएको बाटो
आज अन्धकारको यात्री
अन्धकारमा नै हराइरहेको छु र यसैमा बिलाइरहेको छु ।

– कपन-३, काठमाडौं

Dil Sahani – Naya Nepal

दिल साहनी – नयाँ नेपाल

सामन्ती सत्ता विनाकै नेपाल हो नयाँ नेपाल
जन सत्तासितकै नेपाल हो नयाँ नेपाल
प्रतिगमन विनाको नेपाल नै हो नयाँ नेपाल
अग्रगमनसितकै नेपाल हो नयाँ नेपाल
राजाको छोरो राजा हुने नेपाल नयाँ नेपाल होइन
राजाकी छोरी राजा हुने नेपाल पनि नयाँ नेपाल होइन
राजाको बंशनाशपछि
खोजेर राजाकै कुनै उत्तराधिकारी फेरि
पाउमा दाम चढाउने नेपाल पनि नयाँ नेपाल होइन
काजीको छोरो काजी हुने नेपाल पनि नयाँ नेपाल होइन
आमाको गर्भबाट फुत्त निस्किनसाथ बाहिर
कर्नेल र जर्नेले हुने नेपाल पनि नयाँ नेपाल होइन
हली गोठाला कमैया र सुकुम्बासीहरुका छोरा छोरीहरु पनि
राष्ट् प्रमुख हुन सक्ने नेपाल नै हो नयाँ नेपाल हो
राजा र रैतीको साइनो बोकेको नेपाल कुनै नयाँ नेपाल होइन
लोकतन्त्र र गणतन्त्रको परिचय बोकेको नेपाल नै नयाँ नेपाल हो
श्री ५ की जय भन्ने नेपाल नयाँ नेपाल होइन
श्री ५ गंभीर प्रचण्ड प्रतापी भूपतिको नेपाल पनि नयाँ नेपाल होइन
राजा सवैका साजाको नेपाल पनि नयाँ नेपाल होइन
हाम्रो राजा हाम्रो देश
हाम्रो भाषा हाम्रो भेषको नेपाल पनि नयाँ नेपाल होइन
श्रीपेचसितको होइन
श्रीपेचविनाको नेपाल नै नयाँ नेपाल हो
दरबारविनाको नेपाल नै नयाँ नेपाल हो
तरबारविनाको नेपाल नै नयाँ नेपाल हो
विदेशी प्रभहरुको आशीवार्द थापेर चल्ने नेपाल नयाँ नेपाल होइन
विदेशको बजेटमा जोतिने नेपाल नयाँ नेपाल होइन
मजदूर किसानको रगत पसिनाले कोरिने नेपाल नयाँ नेपाल हो
श्रमजीवी जनताको हाड र छालामा कोरिने नेपाल नयाँ नेपाल हो
जंजीरमा जेलिएको नेपाल नयाँ नेपाल होइन
हत्कडीले बा“धिएको नेपाल नयाँ नेपाल होइन
नेल ठोकिएको नेपाल नयाँ नेपाल होइन
माथिको आदेश र हूकुमले चल्ने नेपाल पनि नयाँ नेपाल होइन
जनादेशले चल्ने नेपाल नै नयाँ नेपाल हो
हजारौं हजार शहीदहरुको बलिदानले ब्युँझेको नेपाल नै नया“ नेपाल हो
युगौं युगकदेखिको नर्ककुण्डबाट बाहिर निस्केर
सगरमाथातिर पखेटा चालिरहेको नेपाल नै नयाँ नेपाल हो
मुक्तिको बाटो पहिल्याउ“दै अघि लम्केको नेपाल नै नयाँ नेपाल हो
युगौं युगौंको दासताबाट
पुरै का“चुली फेरिरहेको नेपाल नै नयाँ नेपाल हो
लाहुर जाने नेपाल नयाँ नेपाल होइन
आफै लाहुर बन्ने नेपाल नै नयाँ नेपाल हो ।

Ram Prasad Prasain – Manomalinya Ko Badhshala

रामप्रसाद प्रसाईं – मनोमालिन्यको बधशाला

गजधम्म धुमिइएका असीमित आकाशहरू
सीमान्त उज्यालाहरूलाई छाँद हाल्दै
भावोद्वेगका
गर्त र गर्भहरूमा
गौरवान्तितरूपले
अङ्ग सर्वाङ्ग नांगिइएर
प्रदर्शन गरिरहेछन्—
ताण्डवहरू

सौन्दर्यका समविन्दुहरूमा
जहाँ, जसरी, जुनरूपले
क्षितिज मेटिइएको होस्
सम्मोहित आक्षाँश र देशान्तरका
समानान्तर
समानुपातिक
समावेशी
सहअस्तित्वगामी कसी र कसौँटीहरूमा

सँघर्षको नाम जीवन हुँदा
समयको भित्तामा
टाँगिइएका घण्टाघरहरू
बिगबेनहरू, ईफिल टावरहरू
धरहराहरू, ग्रेटवाल
अनि
भौतिक जगतमा विलयन भएका
तर
मानसिकतामा कहिल्यै
एकीकृत हुन नसकेका
जिजीविषाका बर्लिन वालहरू
हेर्दा हेर्दै
देख्दा देख्दै
माथि असीमित आकाशका क्षितिजमुनि
मथिङ्गलको बधशालामा कटाक्ष गरिरहेका
निगाला, मालिङ्गा, अर्घेली र लोक्ताका झाङ्गहरू
लेउ र बेर्ना कोरल्न अभ्यस्त भइरहँदा
पाइथोगारस् गनिरहेका होलान्—
ढुङ्गाहरूलाई भेडा
भेडाहरूलाई ढुङ्गा
अनि
एकबाट एक घटाउँदा
एकै बाकि रहने
फेरि
एकमा एक अटाउँदा
एकै हुने
अचम्मको देवकोटाको गणित देखेर
पूर्वीय दर्शनको खन्ती गुथेर
हिँडे होलान्
गिठ्ठा, तरूल, भ्याकुर
खोज्न
ब्रह्माण्डको नाभिकीय फलक्रममा
चाकाचुली खेलिरहेको
उत्तोलकको लिस्नोमा
घनघस्याको उकालो जोखेर
अनि भन्दा हुन्—
एक अर्को इपिफ्यानी
अकाट्य ब्रह्मसत्य रहस्यको
ब्रक्ममूर्हुत समयमा
घृणा, रिस, राग, ईर्ष्या र घमण्डले
खर्लप्प निल्छ—
अस्तित्वलाई
जनजीविकालाई
बाँच्नुको मर्म र नबाँच्नुको अधर्मलाई।

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)