Kusum Gyawali – Eklai Sabai Khanchhu Bhanda [Nepali Gajal]

भोकभोकै बस्नुपर्छ, एक्लै सबै खान्छु भन्दा
उल्टैलाग्छ आफैंलाई, अरुलाई हान्छु भन्दा

निर्दोशलाई बाँध्न खौज्दा, आफ्नै खुट्टो नेलमा पर्छ
आफ्नै जमिन धस्किनेछ, सबको खुट्टो तान्छु भन्दा

पराजय निश्चित छ, वैर गर्यौ सबै सित
भासिनेछौं तिमी आफैं, एक्लै पहाड थाम्छु भन्दा

अति गरे खति हुन्छ, भन्थे बुढापाकाहरु
समयले खोस्छ सधै, एक्लै सबै लान्छु भन्दा

बन्दुकले जित्ने हैन, मन जित्ने ठूलो मान्छे
आफ्नो सीमा तोक आजै, जनताले मान्छु भन्दा

Kusum Gyawali – Naya Hajur 1

धोएर जल खानका लागि त
महाराजहरूकै खुट्टा प्रसस्तै थिए
मलाई किन चाहियो अब
नयाँ हजूरका नयाँ खुट्टाहरू
बिहानै चाकडीमा लाईन लाग्न त
ठुला ठुला दरबारहरू छदैथिए
मलाई किन चाहियो हरेक दिन हातमल्दै घुम्नकै लागि
नयाँ हजूरको भरखरै बनाएको राजधानीको अग्लो घर

मेरा मुखमा कोच्नका लागि त प्रयाप्तै थिए
पुराना मालिकहरूले तयार पारेका
थोत्रा कानुनका एकथुप्रो पुस्तकहरू
ए, नयाँ हजूर मलाई किन चाहियो
नानीहरूको आलो रगत कट्कटीएको
तिम्रो प्राइभेट अदालतको फैसलाको मिसिल

मैले तानेर थाकेको छु
महाराजका दूर्गन्धित बग्गीहरू
ओ, नयाँ हजूर मलाई किमार्थ रहर छैन
फेरि तिम्रो डोले बन्न
भजन गाउनका लागि त
पुराना महाराजहरूले प्रसस्तै
स्वतन्त्रता निगाहा बक्सिएकै थियो
गाउनकै लागि त मलाई किन चाहियो
नयाँ हजूरको नाममा
रिमिक्स गरिएका पुराना भजनहरू

निहत्था करङ् भाँच्नकै लागि त
पुराना हजूरहरूले संगठित गरेकै थिए
निर्मम कठबाँस र अमानवीय बर्दीहरू
ए, नयाँ हजूर मलाई थप किन चाहियो
शालीन इतिहासबाट आयातित
नयाँ हजूरका अभद्र भाटा र अन्धा बन्दुकहरू
बन्धक बनाउन त हाम्रा कुमारीसपनाहरू
पुराना मालिकहरूका बिदेशी खाताहरू प्रसस्तै थिए
ए नयाँ हजूर मलाई चाहिएन
जबरजस्ति लुटेका कलिला सपनाहरू
मलाई साच्चीकै मुक्ति चाहियो
सम्पूर्ण मुक्ति चाहियो
नयाँ हजूरको नयाँ नङ्ग्रा र पन्जाहरूबाट

Kusum Gyawali – Mauri

हो सताब्दीयौँ देखि निरन्तर
मौरीको घारमा रहन्छे रानी
तर पनि त्यहाँ हुदैन कुनै प्रकारको राजतन्त्र

आफ्नै सन्तानलाई दुध चुसाउन मौरीले
धाई राख्दैनन् घारमा
खानैले खाई मात्रै रहने
काम गर्नेले गरिमात्र रहने गरी
बोक्रे सम्झौतामा मेलमिलाप गर्दैनन् मौरीहरू
गुटगत नीलो स्वार्थले घारहरूमा कहिलै विभाजन हुदैन
घारमा नयाँ रानी विदेशी चलखेलबाट पनि बनाईदैन

साहू बाले हिजो मौरी पढाउँथे हामीलाई
सिकाउँथे विद्रोहहीन श्रमका कथा
सेरेमोनियल बाजेले आज पनि
अगाडि राखेर मौरीको रानी
निर्लज्ज सिकाउँदैछन् श्रीपेचसंग राष्ट्रियताका कुरा
अपूर्ण कथा हालेर कर्मीमौरीको
वकालत गर्छन मृत शान्तीको
ए बाजे, घरैमा मौरी पाल्ने किसानहरूका अगाडि
अब सम्भब छैन झूठ बोल्न

मौरीहरू स्वतन्त्र घुम्छन साझा फूलवारीहरूमा
मौरीहरूले डर मान्दैनन् जमिनदारका धनी पूर्जाहरूसंग
कुनै कानूनले रोक्न सक्दैन जङ्गलमा बस्ने आदिबासी जस्तै
स्वतन्त्र विचरण गर्न मौरीहरूलाई
भिन्न भिन्न जातका मौरीहरूमा पनि
जातीय पहिचानको द्वन्द्व छैन
सबै मौरीहरूले स्वछन्द गतिमान हुन गुनगुनाउँछन्
एउटै अन्तराष्ट्रिय गीत
सृजनाका अभियानमा सहजै प्राणआहुति गर्छन
दासताका अर्चना लेख्न सक्दैनन् मौरीहरू
हो सताब्दीयौँ देखि निरन्तर
मौरीको घारमा रहन्छे रानी
तर पनि त्यहाँ हुदैन कुनै प्रकारको राजतन्त्र