Chanki Shrestha – Bhok Ra Prem

बिहानीको घामझैँ
फैलायौ तिमीले मतिर प्रेमको सिरानी
म हिँड्ने बाटोभरि
तिम्रो सौर्न्दर्यको प्रकाश पनि फैलिएकै हो
प्रिय हेलेन !
मेरो लागि एउटा न्यानो र्स्वर्ग पनि
सजायौ तिमीले आफ्नो हृदयमा ।

प्रेम र सौर्न्दर्यका उपकथाहरू
बारम्बार यसैगरी जोडिन आउँछन् मसँग
र, कुनैदिन विकर्षाको क्षितिजमा
इन्द्रधनुषझैँ अकास्मात् बिलाएर जान्छन्
सत्य भन्छु हेलेन !
मेरो हकमा तिम्रो प्रेम र सौर्न्दर्यको नियति पनि यही नै हुनेछ ।

भन्नेहरूले भन्लान्
तिमीलाई प्रेम गर्न नसक्नु मेरो दुर्भाग्य हो
ठान्नेहरूले ठान्लान्
यसलाई नपुंशक व्रि्रोह
ठान्नहरूले जे पनि त ठान्न सक्छन्
तर म भन्छु
दृढतासाथ-
सत्य सबै बान्की परेका हुँदैनन्
सत्य कहिल्यै एकांगी हुँदैन
के गान्धी, गेरिबाल्डी
वा लेनिन र चे ग्वेभारा नै अन्तिम सत्य थिए –

सत्य भन्छु हेलेन !
मान्छेको सबैभन्दा ठूलो कुरा उसको आवश्यकता हो
रोगीलाई यौनको कुनै अर्थ हुँदैन
जसरी भोकोलाई संगीतको कुनै भर हुँदैन
अनादिकालदेखि नै म त
पौडिरहेछु भोक, रोग र शोकको अनन्त सागरमा
ए मैलै प्रम गर्न नसकेको प्रिय हेलेन !
म अत्यन्तै कहालीलाग्दो समय हुँ यस युगको ।

साँच्चै,
यो असीम भोक, रोग र शोकको संसारमा
तिम्रो रूप र सौर्न्दर्यको के अर्थ हुन्छ हेलेन !

Chanki Shrestha – Desh Lai Bagauna Tamtayar Yi Nadi Haru

थुप्रैथुप्रै मुहानहरू
भरिभराउ छन् रगतले
चारैतिरबाट बग्दै आएका छन्
चारैतिर बग्दै गएका छन् यहाँबाट रगतका नदीहरू ।

बगैँचा हुँदै
कुलो-कुलेसो हुँदै
आली र कान्ला हुँदै
जंगल, बुट्यान र रूखका टोड्का हुँदै
मुलायम फूल र कोपिलालाई रुझाउँदै
बगेको छ साना बालकहरूको रगत
वृद्ध मान्छेहरूको रगत
कलिला युवतीहरूको रगत ।
बढदै बढ्दै आइरहेछन्
बढ्दै बढ्दै बढ्दै गइरहेछन्
रगतका यी खोलाहरू
रगतका यी नदीहरू, सागरहरू, महासागरहरू
सिंगै देशलाई बगाउन
तम्तयार भएर बढ्दैछन्
बढ्दै बढ्दै बढ्दै आइरहेछन्
बढ्दै बढ्दै बढ्दै गइरहेछन् ।

Chanki Shrestha – Hatiyar Nirmata

प्रागइतिहास साक्षी छ-
फलामको सुदर्शन चक्रबाटै विन्ध्याचलमा मारिएका थिए सुदाम
जो आर्यावर्तमै फलामका सबभन्दा पोख्त कारिगर थिए
फलामकै हतियार निर्माता लोहासुर
दोस्रो पल्ट मारिएका थिए फलामको हतियारबाट
र, त्यो तरबार पनि फलामकै थियो
जसलाई अर्जापेर
महाराज रामबाट कलमी गरिएको थियो शम्बूकको शिर ।

त्यसपछि पनि अरु कैयन् कैयन्
फलामका हतियार निर्माताहरू मारिए
फलामकै हतियारबाट ।

तिनैबाट निर्मित हतियार खोसेर
गरिएको थियो तिनीहरूको हत्या
जसले विपत्मा सापटी दिएका थिए हतियार ।

(आफ्नै हतियारबाट भएन कहिल्यै तिनीहरूको सुरक्षा
आफै बाट निर्मित हतियार कहिल्यै तिनीहरूको आफ्नै भएन ।)

आर्यावर्तको यस पावन भूमिमा
सुदूर अतीतबाट साभार भएर
घुमिरह्यो समयको चक्र बारम्बार
जहाँ गुरुमाता अहिल्यालाई अपहरण गरेर
बीच सडकमै बलात्कार गर्छन् महाशक्तिशाली महाराज इन्द्र
जहाँ अपराध पनि शक्तिशालीहरूका लागि
भइदिन्छ अधिकार ।

युगअनुसार बदलिने हावाको झोकासँगै
निरन्तर पल्टिरहेछन् समयका पानाहरू
र, लोकतन्त्रको मध्यान्तरमा
हतियार निर्माताहरू
आज आफ्नै लागि हतियार बनाइरहेका छन् ।