Biyogi Budhathoki – Sanjha Ko Batti Bale Jastai (Nepali Gajal)

वियोगी बुढाथोकी – गजल
(मधुपर्क २०६६ भदौ)

साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।
आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।
दिलको देउता देखाएर पूजा अर्चनामा
श्रद्धा सुमन चढाएर लगातारमा आयौ ।
घाइते मनको चाहनामा दुःख बाँड्न सखा
एक्लो भौँतारिँदै थिएँ म हरिद्वारमा आयौ ।
संयोग जुर्यो भेट भयो बसौँ चौतारीमा
चाह होइन वियोगीको हारगुहारमा आयौ ।

Biyogi Budhathoki – Nasha Piyen Bhanthen Dasha Piyiyechha (Nepali Gajal)

वियोगी बुढाथोकी – नशा पिएँ भन्थें दशा पिइएछ (गजल)
(मधुपर्क पुस, २०६७)

नशा पिएँ भन्थें दशा पिइएछ
बोल्ने ओठलाई आफैँ सिइएछ

प्रेमको खोला तर्न भेट्न बोलाएँ
मायाको बदला चोट दिइएछ

मातिएका पाइला लर्खराएथे
होस् खुल्दा उनकै ओत लिइएछ

अठोटको लौरो टेक्दै धेरै धाएँ
बित्थामा निर्दोष पैताला खिइएछ ।