Sudhir Chhetri – Traasadi Traasadi Traasadi

सुधीर छेत्री – त्रासदी त्रासदी त्रासदी

आज भर्जिनियाको समाचार-सारांश छ:
अमेरिकाको एक युनिभर्सिटीमा दक्षिण-कोरियाली विक्षिप्त छात्रद्वारा फायर गरिँदा
तिस मृतकहरूमध्ये भारतीय मूलका शिक्षक र छात्राको मृत्यु ।

कम्युनिष्ट मेनिफेष्टो काखि च्यापेर
सुदामा

इतिहासमा आफ्नो नाम हाइलाइट गरेर
हातमा स्केचपेन खेलाउँदै फर्केको स्वाभिमानी
राजा पुरुहरू
यो कालको बङ्करमा बसेर
आफ्नो प्राप्तिको एक्सरे-प्लेट हेरिरहेछन्
अनि च्यापिएको अरण्यकान्डले बेरेर
पिज्जा निलिरहेछन् ।

यो सहस्राब्दीले
मुखमा
बन्दुकको सिग्रेट झोसेर
मृत्युको धुवाँ फुकिरहेछ ।

शान्तिले आफ्नो कालो बुट सडकछेऊको कलिलो बालकलाई पालिस गर्न लाउँछ । विद्रोह पनि आदिवासी बालिकाले ढकढकाएको यौवनको दैलोमा ठूलो ताला भाषणको निम्ती स्क्रिप्ट तयार गर्दै तातो चियाको तलतल मेट्न चाहान्छ । काठे गुडियाको अनुहार भावशून्य रहिरहन्छ । पोस्टरका परेवाहरु चल्मलाउँदैनन् ।

मायाको दस्तावेजसित
एन्थ्र्या्क्स जान्छ दाह्राको एम्बुस बोकेर
अनि
सिनो गन्हाउँछ लाश बोकेर
इराकबाट
आउँछ
एयरपोर्टमा एउटा त्रासदी ।

भिडियो गेमको पर्दाबाट
कुनै बालकलाई
काउण्टर स्ट्राइकले
आधुनिकतम पिस्तोल थमाउँदै
बीभत्सरसको तातो जुस पिलाइरहेछ ।
स्कुलबाट
खेतबारीहरूबाट
थुर्रिएको गोलीको आवाजले
हावालाई मृत्युमय
रङ्ग दिएकोछ ।

जलेको बस
रगत पोतिएको सडक
चप्पलहरू र आरडीएक्स
फुटेको मादल र टीएनटी
कारगिल र सताइस जुलाई
११ सितम्बर
कलिङ्गसितै शहीद अशोक ।

Sudhir Chhetri – Shakti Pradarshan

सुधीर छेत्री – शक्तिप्रदर्शन

लेम्पपोस्टको नाकभरि मुस्लो धुँवा फ्यॉंक्दै,
तीतेपातीको शरीरमा
चोटको ट्याट्टु नै ट्याट्टु खोपेर,
नयॉं लुगामा उभेकी दुबोलाई
मिचेर थिचेर
शक्तिप्रदर्शनको आत्मपरकता बोकी
घरमुनिबाट जॉंदैछन्
झण्डाहरू।

हातमा भिटामिन बोकेर उभेकी रायोसाग, पधिना।
तारमा रेलझैं कुद्ने लोथर्के।
कवच लगाएर उभिएका क्याक्टसहरू।
हातमा कोल्टे तराजु लिएकी प्रकृति।
सबै छुपुक्क। सबै अवाक् एकक्षण।

कोठाभित्र,
घरि बुशका सैनिकहरू घरप्-घरप् फ्लेगमार्च गर्छन्,
घरि नन्दीग्राम डॉंको छोडेर रून्छ,
अर्द्धनग्न आदिवासी-स्त्री कहालिँदै आउँछे।
किताबभरि भयको सस्यूरले
केवल रगतपच्छे शब्दहरू मात्र कोट्याइबस्छ।

सारङ्गी रेटिरहेका अम्लिसोका पातहरूलाई
उपहास गर्दै
रूख-टमाटरको कुण्डल लाएको
अमिलो झ्याङ्लाई झापड हानिराखेर
एउटा जुलूसमा
घरमुनि
बज्दैछ सोडापानीको फिँजजस्तो
मुर्दावाद र मागहरू।

कोठाभित्र,
घरि लौराहरू बजारिन्छन् भित्ताको ह्याकुलामाथि,
भालाहरू खोपिन्छन् कालिन र दराजको मुटुमै,
टियरग्यासले बल्बहरूका आँखा पोल्छ।
सडक जल्छ कोठा उज्यालो पारेर
कॉंचो रगतको गन्ध ठस्स नाकमा पस्छ।

चियाबारीले लमतन्न परेर
बुढ़ो करङमा
लुतो कनाइबसेको छ। कुलैनबारीमाझ पहेँला राता बनमाराका फूलहरू,
फटेङ्ग्रा, कालिज, गौंथली अनि धोबिनी चरी आदि
मेरो प्रतीकात्मक कविताप्रति
असमर्थनमा टाउको हल्लाएर
मेरो पलायनको पोल खोलिरहेछ।

(Sent to Sanjaal Corps via Email)

Sudhir Chhetri – Naya Barsha

सुधीर छेत्री – नयाँ वर्ष

यदि तिम्रा तिलस्मी कोखिलाहरूमा विकासका प्वाँखहरू उम्रेका भए
धुलो हटाउँदै, तुवाँलो चिर्दै, खेतहरू उफ्रँदै
माटोले लिपेको गाउँमा नाङ्गै उफ्रिरहेको भोको बालकलाई छाम्न जानू।
उसका सुकेका आन्द्राभित्र शीत भएर पस्नू।
केही साउअक्षरहरू कानमा गुनगुनाएर आउनू।
फुटेका कुर्कुच्चाहरूलाई सपनाका पुतलीहरू उड्नसक्ने रङ्गीन क्षितिजहरू दिएर आउनू।
पसिनाका भजन गाइरहेका पाँसुलाहरूभित्र
आजीवन लहराइरहने धानका बालाहरूको बैँश भरेर आउनू।
फुटाएर आउनू खडेरीका रित्ता घैँटाहरू।

नयाँ वर्ष
यदि तिम्रो सुरिलो गीतमा अस्मिता र परिचयको धुन गुन्जिरहेको भए
भञ्ज्याङहरू उक्लँदै, भिरालीहरू तर्दै
कुइरोले छोपेको जङ्गलमा बोधीवृक्ष खोज्न जानू।
कलिलो राजकुमारका अर्द्धमुदित आँखाहरूबाट फलामको दृढता मागेर ल्याउनू।
पस्नू प्रत्येक पाइतालामा गन्तव्यको मांशपेशी बनेर।
फुलिदिनू आस्थाको बैशाख।
फिँजाइदिनू उपलब्धिका बिस्कुनहरू।

(Sent to Sanjaal Corps via Email)

Sudhir Chhetri – Hippocrit Sambedanshilata

सुधीर छेत्री – हिप्पोक्रिट संवेदनशीलता

“साहित्य, कविता, सत्यं, शिवं, सुन्दरम् -यी के हुन् ? सब अक्षरका खेलमात्र हुन्, अक्षरको एक विशेष मर्यादाक्रम हुन्। आजको भोलि नै यिनलाई बदलिन सकिन्छ, यिनलाई म अहिले नै बदलिनसक्दछु।”
-शङ्कर लामिछाने,

एब्स्ट्र्याक्ट चिन्तन प्याज
कार्निभल चल्दैछ। कार्निभल।
समुद्री ढुङ्गाजस्ता
चिप्ला भूगोलमा
हातहरू पसारिरहेको छ माग्दै केही
थकित अक्टोपस्। मलिलो गर्भाशय छ
मागिरहेछ वीर्य।
त्यसका रूबी झैं टल्कने आँखामा त्रास
एकथरिको बाक्लो।
घनीभूत आतङ्क।
देशको डायरीमा
अनुच्छेद गॉंसेर
कति फर्किपनि सके।
कति अब फर्कंदैनन्।
देशले रगत माग्यो।
कॉंडेतारबाट औंलाहरू बटुलेर
फर्कियो मेरो अङ्गुलीमाल।
मध्यान्हतिर
गाउँका सबै मान्छेहरू
लक्षणाको चोया काट्दैछ।
पोका-पोकामा शून्यता बोकेर बेचिहिँड़्ने
शङ्कराचार्य
खु इ य्य ओछ्याएर बसेको छ।

मार्शल डुश्याम्पले
पिसाब फेर्छ
आधुनिकताको टोपीमा।
वामपन्थीहरू
द्वन्द्ववादको नेपकिनले रगत पुछ्दैछन्
अनि
ट्रोजन हर्सहरू कुदेका-कुदेकै छन्
भुटानी शरणार्थीहरूका सिन्दूर टेक्दै।
कम्रेडले दॉंत कोट्याउन छोडेको छैन।
अध्यात्मको पारदर्शी कवचबाट छर्लङ्ग देखापर्दैछ
कीर्तनका करङहरू।

समयको उपत्यका-उपत्यकामा टेकेर
वर्त्तमानको स्वयंसेवकले
खण्डित शिलालेख कोरेकारहेछन्।

मेरो अभिव्यक्ति
विखण्डनमाथि उफ्रँदै हिडेको छ-

-आचारसंहिताले हात्ती छामिबस्छ

-हिस्सीले कम्मर मर्काइरहन्छ

-अलच्छिन चिलहरू सिलहट कोर्छन्

-खेतभरि ग्रामबालाहरू कागज झैं च्यातिन्छन्

-किसानलाई ऋण साह्रै स्पष्टवक्ता लाग्छ

-फ्लाइओभरमुनि संविधानहरू गुडिरहन्छन्

-पूर्णविरामहरू प्रुफरिडरलाई गुहार-गुहार भन्छन्

-आठौं अनुसूचिबाट शब्दहरू रोएको आवाज आइबस्छ

-इन्द्रजाल पढिरहेछन् खाकी रङ्गका युनिफर्महरू

-चिट्चिट् पसीना आएको छ उद्भिदको निधारमा।

Sudhir Chhetri – Kaksha 2007

सुधीर छेत्री – कक्षा-2007

लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले
दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई
खुटिरहन्छ।
यो कक्षाको ज्यामिति-बाकसभित्र
स-साना कम्पास र चॉंपहरू
बेमेलको बक्ररेखालाई
तन्काई-तन्काई
तेर्सो पार्ने प्रयासमा छन्।

मेरो श्रेणी कक्षा
राधाकृष्णन् र
कृष्णमूर्तिले टालेका कोटेसन चाखेर
जिब्रो पड्काइरहन्छ अनि दिनहुँ
दिमागको छानाबाट चुहिरहने
विचारका तप्कनाहरू
समयको भूईंमा पछारिइरहन्छ।
समय-तालिका चपाएर
अनुशासनको वान्ता गर्छ
उज्यालोले लाटिएका
पोल्ट्री फार्मका पङ्क्षीहरू।
जुनकिरीको रॉंको बोकेर
उमेरभन्दा अघि-अघि हिडिरहेछन्
दुबोहरू।

काठको टेबलले
आफ्नो संवेदनशीलता बचाउन
छातीभरि कोर्नदिइरहन्छ अङ्ग्रेजी गीतका स्थायीहरू।
हतास फलामका बेञ्चीहरू पनि
कनाइबस्छ ढाड
ग्रफाइटको पेन्सिलले।

इतिहासको किताबबाट
पिरियडैपछि निस्कनचाहने योद्धाहरू
भूगोल र विज्ञानको बीचमा चेप्टिएर
समय-कटनीको लागि
टिफिनको गन्ध सुँघ्दै
मुख मिठ्याइरहेछन्।

बाहिर देखेँ,
बयेरका टफी चुसेर चराहरू
मसीनका आवाजबाट
कर्कशता छिलेर
साङ्गीतिक लेप लाउनलाई
भुर्र-भुर्र हावा हम्किरहेका रहेछन्।

Sudhir Chhetri – Kabitako Katha / Sidha Prasaran

सुधीर छेत्री – कविताको कथा /सीधाप्रसारण

एउटा अर्द्धवयस्क सेतै फुलेको नेता
विधानसभामा बोलिरहेथ्यो ह्न बोलिरहन्छ,
मेरो राज्यमा
एक हजार सत्तर हत्या भयो यसवर्ष
दुइसयजति बलात्कारहरू
जुन पोहोर-परारको आँकडाभन्दा धेरै कम छ।
हत्याको सङ्ख्या घटिरहेछ।

नेपथ्य :
गोसखानमा खसीहरू
कति काटिए यस वर्षको चॉंडमा,
सोध्न गइरहेछ
एक शाकाहारी कवि।

***
ठूला बन्दुक बोकेका
भीषण अङ्गरक्षकहरूले चारैतिरबाट घेरेको
निकै ठूलो मान्छे
अर्फनेज शिशुहरूको होस्टेलमा
खानेकुरा बॉंड्न हिँडिरहेछ।
नेपथ्य :
अब फूल र नेहरूजीको प्रसङ्ग
कोट्याउनै नसक्नेगरी
विकलाङ्ग भएको छ कवि।

***

इतिहासले बगाएको
शैनिकशास्त्रको पुस्तक
टिस्टाको कमेरो पानीमा
तैरिन थालेपछि
शनिबारको हाटमा
युद्धका मेडलहरू
परिवारलाई हरियो परियो टनिक खोजिरहेछ।

नेपथ्य :
विशेषणका वस्त्रहरू खोलेर
न्यूड संज्ञाहरू
कलात्मक बन्नको निम्ति
भ्यागुताझैं उफ्रेर
ललितकलाको टेक्ने भुँइ खोज्छ।

***

अरू कविताहरू आजदेखि
कथा रच्नगएका छन्।

Sudhir Chhetri – Naya Bihan Ko Collage

सुधीर छेत्री – नयाँ बिहानको कोलाज

पूर्वेली आकासको कुनाबाट
घामले रातो रूमाल हल्लाएर
एकदिवसीय म्यारेथेनको घोषणा गरयो।

फुच्चे दुबोहरु शितमा खुट्टा चोप्दै उफ्रिए।

हावाले घाँटी फुलाएर
सुसेली बजायो।

आँखाको Continue reading “Sudhir Chhetri – Naya Bihan Ko Collage”

Sudhir Chhetri – Purush

सुधीर छेत्री – पुरूष

बीन बजाएर सपेराले
एकजोड़ी सॉंपलाई बजार बीचमा भीड तान्नलाई
नचाइरहेछ।
त्यसलाई कत्रो पुरूष लागेको छ आफैलाई।
सॉंप जति नाचेजस्तो गर्छ
सपेराको स्वाभिमान आनन्दविभोर बन्छ
भोक बिर्सेर
तिर्खा बिर्सेर उ मातिदिन्छ,
मदान्ध बन्छ पुरूषको गन्धले।
पुरूषार्थ घर-घरमा ढकमक्क फुलेको फूल हो,
फूल पनि के भन्नु कॉंडा हो।
फूल-कॉंडा भन्नु पुरानो भयो भने
यो पराग हो,
कहीं भूइँमा झरेपछि त्यो झर्योो झर्योो हुन्छ केही उम्रँदैन,
त्यसको जीवन थिएन अनि हुँदैन।

पुरूष कॉंचो माटो हो,
मूर्ति पनि बन्छ, भॉंडो पनि बन्छ
तर त्यो पाकेपछि सॉंपसित नाच्दैन,
सपेरासित हॉंस्दैन।

Sudhir Chhetri – Samalaingik Diary

सुधीर छेत्री – समलैङ्गिक डायरी

पहिरोको ठिक्क डिलमा
ठूलो ढुङ्गा अल्झिएजस्तै गरी
भुत्लाले ढाकिएको छातीमा
अप्ठेरोसित अड्किएको छ
ब्रा।

लिप्स्टिक चाटिरहेका उसका ओँठहरू
लियोनार्डो डि-क्याप्रियोका किशोर गाला चाट्नचाहन्छ।

व्याक्सिङ् गरिएका छेपारीदेखि
च्याउँदै हेरिबस्छ मिनिस्कर्टबाट टाउको निकालेर
एउटा अश्लील ट्याट्टुले।

शनिबारको रात।
रात्रि भोज।
नयॉं होटल।
सबै सोँचेर नाइटोमा खोपेको गुलाबको फूल
मुसुक्क हॉंस्छ।

चञ्चले हावा रत्यौली गर्छ
फेशनेबल केश-विन्याससित।

ढुकढुक गर्दै आवेगहरू गन्ती गर्छन्
कृत्रिम वक्षभित्रपट्टिको
परायथार्थवादी मुटु।

हरियो चश्मापछि
लुकेका एकजोर नारसिस्ट आँखाहरू
संशोधित दृष्टिले यौन निचोर्दै रस टिप्छ।
मुहार सँधै हँसिलो राखिराख्न
अभ्यस्तताको जोगाड गरिरहेछ
रसाद्र मेक अप्।

(Sent to Sanjaal Corps via Email)

Sudhir Chhetri – Sahar Bhitra Ko Ho Halla

सुधीर छेत्री – सहरभित्र के-को हल्ला

1 ए लिप्स्टिकका एफ्रोदिते सुगन्धहरू
मांसल शब्दहरू खोजेर
अभिव्यक्त हुनलाई
उन्मादका चिल्ला तिघ्रा बजाएर
सिग्मण्ड फ्रायडका गाउँ खोज्दैछन्।
छातीबाट उम्केर
सहरका Continue reading “Sudhir Chhetri – Sahar Bhitra Ko Ho Halla”

Sudhir Chhetri – Maila Lai Ramita Chha

सुधीर छेत्री – माइलालाई रमिता छ

अहिलेदेखि झण्डा बोकेको होइन माइलाले।
माइलालाई रमिता छ।

माइलाले नै बोक्नुपर्छ
जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी।

माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,
भिरिबस्नु छ देशरक्षाको भुत्ते खुकुरी
अनि उमालिबस्नु छ खाली कराइमा रालहरू,
झम्टिरहनु छ पक्रनलाई उम्केको माछा।

उसको चेतनाको गलछेँडीतिर युगैपिच्छे
कुन बज्रस्याँठले पिसाब गरिराख्छ ।

ठेलै ठेला उठेका छन्
माइलाको कुटस्थ ब्रह्मभरि।
माइला बिलिँदै गइरहेको छ,
पाठकवृन्द! माइला ग्लेसियर हो
जसको पग्लँदो सहादतले
धेरै खोलाहरू जन्मेका छन्, नदीहरू बनिएका छन्।
माइलाको धमिलो व्यक्तित्वको बारेमा चाहिँ नसोध्नुहोला,
त्यही क्लिष्टताले त यो कविता जन्मेको हो।

खबरमा पढ्नै हुन्छ
माइलाले नारा दिन्छ अघिल्लो जुलुसको पङ्क्तिमा
बादलको खरी उप्किनेगरी पछिबाट त्यसपछि माइलाहरू कराउँछन्।

इन्द्रशेखर पनि उही हो
रने पनि उही हो
जनक पनि उही हो
म्याउची, जयमाया, बाटुली सबै उही हो
उभित्र काँचो कलिलो लचिलो माटो छ
जसलाई प्रत्येकपल्टको दाभिन्चिले नयाँ बजार दिन्छ।
उसको भोकको टाटेपाङ्ग्रे नक्सा बनाउँछ।

पोहोर साल माइलाको मलिलो छातीमा टेकेर
ठूलो कथाको कटिङ सरेको थियो।
पाठकवृन्द। उसैले काटिबस्नु जराहरू,हाँगाहरू।
युगैपिच्छे।

अब माइलाको फोक्सोभित्र
किताबहरू जलेको गन्ध पस्दैछ।
आँखा पोल्दैछ अक्षरहरू ढडेको खिरिलो धुँवामा।
किसानहरूले आत्महत्या गरेको एउटा देशको मानचित्र पस्दैछ।

छिरिबस्छ रगतसरिको माडमा
उसको लपलपे भोक।
ढकढकाइरहन्छ प्रत्येक ऋतु
षडयन्त्रका नयाँ संस्करणहरूले
सजिलै चुइँकिने उसको अवचेतनको दैलो।

पाठकवृन्द। कविता त आजै सकिने होइन
तर माइलालाई रमिता छ।

– कालेबुङ

(Sent to Sanjaal Corps via Email)

Sudhir Chhetri – Ved Ra Kricket

सुधीर छेत्री – वेद र क्रिकेट

ससाना वैदिक टाउकाहरू
बालुवाको बगरमा क्रिकेट खेलिरहेछन्।
लामा उद्देश्यपरक दाह्रीले
गेरूवा-वस्त्रमाथि अल्झेको टाउकोबाट
योगको निमन्त्रणा दिइरहेछ।
पर पोखरीमा
छायॉं ढलपल गर्नु नै कत्रो अध्यात्म छ।
ताछेका टाउकाहरू
अहिले
विकेटहरूबीच कुद्दैछन्।

हरियो डॉंडाको समवेत गम्भीरताले
यो गुरुकुलको अनुशासन निक्कै बुझेजस्तो
हलुका टाउको हल्लाउँदैछ।
थप्पडीको सिम्फोनी,
उच्चारणको कोरस,
अर्थहरूको सारेगम।

आचार्यज्यू अलि लामो छुट्टी पाऊँ न !
परीक्षाको प्रश्न कठिन पाएर
एउटी बालिकाले आत्महत्या गरी। आज।
गुरूजी मरीमरी शङ्ख फुकिबस्छ।

Sudhir Chhetri – Bagar Byapar

सुधीर छेत्री – बगर-व्यापार

बगरको छातीमा
भुत्भुते खेलेर ह्नखोर्सेर
एकहुल हुण फर्के।
व्यवस्थाको न्यायपालिकाबाट हेपिएका
भूमिपुत्र कुकुरका जिब्राहरू
खाद्य-अनुदानका रहल टपरी चाट्दैछन्।

*

अग्ला टक्सिक दृश्यहरू
आँखा पोल्दै आँखीभौं उचालेर भित्र पस्छन्।
चिप्ला अनि चिल्ला बुदुनाहरू
स्पर्शको अमूर्त्त गणित
अनुभूत गराइवरी
जिब्रोको आयतनमा
आगामी स्वादको तन्तुलाई चिमोटेर
पानीमा बेपत्ता भए।

*

हे पर्यटक !
हिमाल स्वच्छ, जल र राशि, विशुद्ध यहॉंको
मान्छे र ईश्वर, ब्युँझन्छ सँगै, प्रकृति जहॉंको

*

धुपीका सोलोडोलो छेपारीमा
चट्याङ्ले ताछेर पीप भरेछ।
किशोर चेपेगॉंढाहरू
मन लाएर जीवन-कला घोकिरहेछन्
शान्तिजुलूसका कमिलाहरू
बालुवाभरि
आदिम स्लोगनहरू कराउँदै होलान्,
खै सुनिन्न!

*

हे पर्यटक !
कन्दरामाथि, सुनखरी राम्रा, भित्ता र पाखामा
सुविधा राम्रो,नैसर्गिक यस्तो, उपत्यका काखमा

*

आँखामा इन्द्रेनीको धागो

हातमा मर्चाले मुछेको निद्रा बोकेर आएका
शबरीहरूले आवेगको लट्टाईबाट
मेरो अनुभूतिको गुड्डड्डीलाई
रूखको टुप्पासम्म उचालिरहेछन्।
चर्मराएर बज्छन्
मेरा शारीरिक वाहनका चक्काहरू।

*

पातका नशाहरूमा बर्षौं अघिको हुरी चल्मलाउँछ।
हावाको हेलिकप्टरले पिठ्यूँको क्षेत्रफलमा चिसो छरेर जान्छ।
त्रिपिटकका पानाहरू झैं
फर्फराइरहेका केराका पातले
अभूतपूर्व गीत गाएर
गाम्भीर्यको हावा पखाली
चाञ्चल्यको रिदम् बजाउँछ।

*

कत्थक पुतलीहरू
अक्षरका फोका आँखामा फुटाउँदै
जीवनको रौं छाम्न नदिई
दृश्य सिलाएर फर्कन्छन्।
पुतलीहरू मिलेर
पखेटाभरि छापिएको
बेनेडेटो क्रोचेका
चिट्ठीहरू पढिरहेछन्।

*

साइँलाका छोराहरू
भोलि
यो जङ्गलको कर्चीमर्ची बटुल्न
यही लुगा र कत्लासितै आउँछन् ;
अनि हराइसकेका अनेकन् भाषाहरूका
स्वरहीन अवशेषहरू बटुल्छन्।
सार्वभौमिकताको लेउमा चिप्लेर
खुट्टा ताछिँदा तर
पञ्चायती मलम छैन वरिपरि।

*

हे पर्यटक !
हरियो पहाड, चरा र जङ्गल, सुन्दर छवि छ
टेन्टमा सुत्नु, शौचालय राम्रो, दाम यसको पॉंच-सय छ