Sagar Saund – Sapana Ko Kheti

सागर साउँद – सपनाको खेती

ह्राम्रा लाजनेताहरु
हाम्रा झोलीभरि सपना हालीदिन
चाहना इच्छा र आकांक्षा
भरिदिन माहिर छन्
इच्छा रोप्छन्
चाहना हुर्काउदै
आकांक्षाका गला रेट्छन् ।

ओइलाएका फुलहरु
निदाएका चाहनाहरु
मरेका सपनाहरु
फेरि ब्यूताउदै
सपनाको खेती गर्छन् ।

सात सत्रका सपनाहरु
छत्तीस छयालीसका चाहनाहरु
बाउन्न बासठीका सोचहरु
सिंगापुरे सपना
स्वीटजरल्याण्ड सपना
नानाभाती सपनाहरु
हालीदिन्छन हाम्रा झोलीमा
हाम्रा लाजनेताहरु ।

दार्चुलाका चाहनाहरु महाकाली
बाजुराका सपनाहरु सेतीमा
बालुवा बुकाएर मरे
रोल्पा कालीकोट र दैलेखका विचारहरु
भेरी राप्ती र कर्णालीका भेलसंगै
बगेर कहाँ कहाँ पुगे ।

कोशीका सपनाहरु कोशी बगरमा
बालुवा गिट्टी र ढुंगासंगै
कता कता पुरिएर मरे ।

भारी बोक्ने भरिया
चौतारीमा टोल्लाउँछ
रिक्साचालक दाइ
रिक्सासिटमै निदाउँछ
क्याम्पस पढ्ने ठिटो
घोत्लिदै फिस्छ हाँस्छ
एउटा कविको कलम टक्क अडिन्छ
देश सम्झिदै तप्तपी आँशु चुहाउँछ ।

हिमालका सपनाहरुमा हिमपात पर्छ
पहाडका इच्छाहरुमा पहिरो जान्छ
तराइका सोचहरु बाढीले बगाउँछ
गरिवीको भुलभुलैयाबाट
सम्पन्नतातिरको सपना
हीनता र आत्महत्याको कुविचारबाट
जीवन र कर्मको पथमा दौडिने चाहना
भरिदिएका छन हाम्रा झोलीमा
हाम्रा लाजनेताहरुले ।

हाम्रा हृदयका पत्र पत्रहरुमा
अनगिन्ती सुन्दर फुलहरु फुलाए
गुराँस कानमा सिउराए
पारिजात शीरमा फुलाए
हजारी गलामा फक्राए
हाम्रा लाजनेताहरुले ।

हाम्रा अबोध मनहरुले
धेरै रगत बगाए
लाखौ हात खुट्टा भाँचे
हजारौ जवानी र जिन्दगीहरु
फुलका सपनासंगै
श्रद्धान्जली चढाए ।

दिन महिना र वर्ष
संग संगै दशकौ बिते
हाम्रा फुलका सपनाहरु
हृदय हृदयमै ओइलाए
सुकाए र मारे
हाम्रा महान लाजनेताहरुले ।

सपनै छर्न सपनै समेट्न
सपनै लाउन सपनै खान
सपनामै बाँच्न सिकाए हामीलाई
हाम्रा महान लाजनेताहरुले
सपनाको खेती गरेर ।

Sagar Saund – Timra Saath Hindne Lai (Nepali Gajal)

सागर साउद – तिम्रा साथ हिड्नेलाई (गजल)

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज
त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।

तिमीलाई देखे पछि उस्कै याद आयो मलाई
वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

उनी संग बोल्न नपाई विछोड मेरो भ’को थियो
उनी सम्झि तिम्रैसाथ सबै पीडा पोखे आज ।।

तिम्री साथी देखेपछि तिम्लाई भेटे जस्तै लाग्यो
अस्ताएको माया फेरि उदाएर बोके आज ।।

सम्झिएरै तिम्रो खेल्ने त्यही सुन्दर आँगनीलाई
तिम्रै नाममा एउटा सुन्दर फुल मैले रोपे आज ।।

डडेल्धुरा, जोगबुडा