Sarubhakta – Taarak Yuddha

सरुभक्त – तारक  युद्ध

उत्सव
भुक्ने पदार्थहरु जंगली राग अलाप्दैछन्
खोई कहाँ हराए नाङ्गेझार
नियमापत्ति अनुचिन्तनहरु ?
ग्रेट मार्च – पशुहरुको महायात्रा
गोहीभोज चल्दैछ
ए सूक्ष्मजीव विश्वका स्थूल मान्छेहरु
परभक्षी सिंह÷वाघहरु दाँत माझ्दैनन्
माउथ ब्रिडिङः महेन्द्रगजहरु जन्मन्छन्
यसर्थ इतरपशु मान्छेहरु
गतिसीमा बढाउँछन्
स्काई थिएटरतिर
आह जिन्दगी ! मुल्तवीमा परेको छ
नभए ब्लफकलमा अडेको छ
क्रस फायरिङः हावाहरुको नृत्य
ए ! भ्रष्टाचारी हरिपाण्डेहरु के गर्दैछन् ?
सिंहदरवारः सार्वजनिक पागलखाना
कुर्सीमा छारेरोगीहरु बस्छन्
यसर्थ हाम्रो देशमा घटनाहरु घटित हुँदैनन्
दूर्घटनाहरु मात्र घटित हुन्छन्
पिट्यूटरी हराएका मस्तिष्कहरुः आन्दोलन गर्न सक्छन्
शान्ति, विकास र अमनचैन ल्याउन सक्दैनन्
ठाइला ! मनका अन्तरिक्षयानहरु हाम्रापनि छन् नि हौ
त्यसैले तारकयुद्ध गर्न जाऔं
धर्तीको नाभी तातै छ
के वस्नु यो आकाशमा खोई !