Sarubhakta – Rashtra Gaan

अग्निमाला
नवः हिमयुगीन अर्घेलाहरु
सिमिट्रीमा रेटिसेन्ट बालहरु
आरोहण गर्छन्
मेथाडोन खाएका हुडिनीहरु
साइवरकोष्टरमा
अपरेशन डेजर्ट स्ट्रोम गर्छन्
गन्धका नाताहरु उस्तै छन्
मात्र नात्रेड्यामस विश्वमा
प्राविधिक गडवडीमा क्षमाप्रार्थनाहरु
आतङ्कका हिमाल चढिरहेछन्
ए हाम्रा सभानाहरु
अल्ट्राभ्वायलेट क्यामेरातिर
कति छन् अदृश्य जोखिमहरु ?
टेलिस्कोप भिरेका गिद्धहरु
शोकेसभित्रका कुकुरभुकाई सुन्दैछन्
उ ः ! परभक्षी आतङ्कका हल्लाहरु
आजभोलि मन्दिरैमन्दिरको देशमा
देवताहरु शरणार्थी बनेका छन्
‘कुकुरदेखि सावधान !’ गिदीमा भ्रम टाँसेर मान्छेहरु
मान्छेहरुद्वारा सावधान छन्
‘भैचालो आउँदैछ ! भैचालो आउँदैछ !’
एउटा सम्भावित भैंचालाको सम्मानमा
मान्छेहरु घर छोडेर कटेरो निर्माणमा
ब्यस्त छन्
‘विद्युतीय धरापमा नपरे फेरि भेटौंला !’
‘सुरक्षा कारवाइमा नपरे फेरि भेटौंला !’
संकटकालमा झ्याप्प निभ्ने संकटकालीन बत्तीहरुमा
एउटा सिङ्गो पुस्ता गीत गाइरहेछ
स्वराष्ट्रिय