Hemanta Pardeshi – Nostalgia Ka Anshu Haru

हेमन्त परदेशी – नोष्टाल्जियाका आँशुहरु

खजुरको बोटको फेदमा बसेर
आँखाले भ्याएसम्मका
बन्जर रेगिस्तानका
अपरिमित दृश्यहरु नियालिरहेको
बिचरा दिलबहादुर !

सधैँ झैँ यसपल्टको दशैँमा पनि
घर जान सकेन ।
ठ्याक्कै तीनसाल भो
घर / परिवार छाडेर
मुग्लान भासिएको ऊ
अनि , त्यति नै भो
यो सुख्खा मरुस्थललाई
उर्बरभूमिमा रुपान्तरण गर्न
नुनिला पसिनाका बुँदहरु
बगाउँन थालेको उसले ।
हो,
रहर पटक्कै थिएन उसलाई
आफू जन्मेर हुर्केको गाउँ-घरलाई
चटक्कै मायाँ मारेर
सात समुन्द्रपारिको बिरानो देशमा
खेतालो / गोठालो बन्ने
तर ,
सक्दै सकेन हेर्न उसले
बाबाको शीरको फाटेको टोपी
आमाको आङ्को टालेको चोली
अनि ,
अग्नीलाई सातफेरा मारेर
भर्खरै घर भित्र्याएको
श्रीमतिको मुहारबाट
अनायसै अस्ताएको पूर्णिमाको जून ।

धेरै सोच्यो, धेरै सम्झ्यो
अनि, सोध्यो आफ्नै मनसित
र, एकदिन
समयसुनामीको छालसँगै
दिशाहीन गन्तब्यको पोको बोकेर
बाटो लाग्यो ऊ
भक्कानो फुटेको मुटुलाई
धैर्यताको तुरुङ्गमा हालेर
लुखुर लुखुर सहरतिर ।

अनपढ थिएन
त्यति अन्जान पनि थिएन ऊ
तीरमा बगाएर शीरमा खोज्ने
चलायमान यो दुनियाँदेखि
तर,
अल्मलियो बिचरा !

कथित आधुनिक सहरको
दुर्भेद्य एवं दुर्बोध्य भीडहरुमा
यता गयो उता हरायो
उता गयो यता अल्मलियो
जापान, कोरिया, अष्ट्रेलिया
सिङ्गापुर , मलेसिया, अमेरिका
इराक अनि अफगानिस्तान
कहाँ कहाँ पुगेन र ऊ ?
दलालका नक्कली कुराहरुमा l
तर पनि,
हिम्मत हारेन उसले
अर्थात, बाध्यता र विवशता
उसको हिम्मतको रक्षा कवच बनेर
ठिङ्ग उभियो ऊ सामु l
चुहिएको घरको छानो
नछाइ हुँदै भा’थिएन
धमिराले भित्रैसम्म खाएर मकिएका
घरका खाँबा र बलोहरु पनि
नफेरि पटक्कै धर थिएन
त्यसैले,
दासता र पराधिनता नै सहि
सुदुर भविष्यको सुन्दर परिकल्पनामा
झोलाभरि निला सपनाका
कलमी बोटहरु बोकेर
बालुवाको देशतिर उड्यो ऊ
हवाईजहाजमा सररर ।

हो,
आतुर थियो ऊ
आफ्नै पसिनाको जलले
मरुस्थलको बन्जरभूमिलाई
हराभरा बगैँचामा रुपान्तरण गर्न
र ,
सपनाका निला फूलहरु फूलाउँन
त्यसैले ,
दिन-रात भनेन कहिल्यै
आँधी , हुरी र खप्नै नसक्ने
चर्को घाम पनि भनेन उसले ।
तर बिडम्बना !
पिँध छेडिएको भाँडो
चुहिएको चुहियै
न कहिल्यै भरियो
न त केही अडियो नै
बरु उल्टै,
अर्थशास्त्रको नियम र परिभाषा भन्दा
बिल्कूल फरक सिद्धान्तमा प्रतिपादित
माग, आपूर्ति, बितरण र उपभोग-को
क्रय, बिक्रय र मोलतोलको जालसाँजीमा
आफैले आफैलाई बेचेको
आफ्नै मूल्यको शोधभर्ना गर्न समेत
हम्मे हम्मे परिरहेकोछ उसलाई ।

दशैँ आयो !
दशैँ आयो !
सबैको मुखबाट सुनिरहेकोछ ऊ
र ,
सुनिरहेकोछ
बा-आमा र मान्यजनहरुको हातबाट
टीका, जमरा र आशिर्बाद थाप्न
अनि,
आ-आफ्ना जीवनसङ्गिनी
र,
बालबच्चाहरुलाई
पोहोर साल दिएको
“अर्को सालको दशैँमा भेटौँला”-को
आश्वासन पूरा गर्न
परदेशीहरुको
घरदेश फर्किने कुरा ।

तर ,
विवश छ ऊ
आफ्ना सारा चाहनाहरुको
दाहसंस्कार गरेर
परदेशको साँघुरो घेराभित्र खुम्चिन
अनि, विवश छ
मुटुमा भक्कानो फुटाएर
घरदेशको हार्दिक सम्झनामा
खजुरको बोटको फेदमा बसेर
आँखाले भ्याएसम्मका
बन्जर रेगिस्तानका
अपरिमित दृश्यहरु नियाल्दै
दुई आँखाका डीलबाट
नोष्टाल्जियाका आँशुहरु तप्प तप्प खसाल्न ।