Chhabiraman Silwal – Dharti

छविरमण सिलवाल – धर्ती

शताव्दिऔँदेखि
एकै नास
कयौँ पीडा र
चित्कारहरु सहदै
मौन रहेको
यो धर्ती
‘म’ भन्दा धेरै गुणा
उच्च हुनु पर्ने हो
पला, घडी, दिन, वर्ष र
ऋतुहरु हुदै
समयको घट्ट घुमिरहेको छ
हो,
यहि समयसँग
सम्झौता गर्न नसकेर ‘म’
धर्ति भन्दा आफु उच्च
भएको भरपाई बुझिरहेछु ।
यो मेरो
यति मेरो भन्दै
चार किल्लामा सिमित राख्छु ।

धर्ती हाँस्न खोज्छ
‘म’
रुवाउन खोज्छु ।
मेरो अहमताले
धर्ती कहिलेसम्म
मौन बस्ने होला ?
म सोच्न सक्दिन,
अनि
धर्ती आफै हाँस्छ,
आफै रुन्छ ।
बाढि, पहिरो र अनेकन्
प्रलयहरुबाट
मेरो अहम् तोड्न खोज्छ
उसलाई बचाँउने
कर्तव्य मेरो हो भन्ने
मैले भुलिसँके ।
समयको चक्र मेरो
वरीपरी घुमिरहेछ,
मलाई पटक्क्ै विस्वास छैन
मेरो अहमताले
उकाली चढ्दै छ,
धर्ती दुःखीत बन्छ,
मेरो पुर्खाका अहम
यसरी नै
समयको घट्टमा
पिसीसकेका थिए ।
‘म’ मेरो कर्तव्य प्रति
उत्तरदायी छैन भन्ने
प्रमाण समयले
बताई सकेको छ
त्यतिबेला म झस्कन्छु
म आफ्नो
कर्तव्य प्रति उत्तरदायी
बन्ने जमर्को गर्छु
जुन बेला
समय
घर्कीसकेको
हुन्छ ,
मेरो अहमताले पहाड
चढिरहँदा दुःखीत
भएकी धर्ती माताको
काखमा
आज मेरो सबै
बही बुझाउँदै
आफुलाई रित्याएर
उनकै काखमा
शरण मागिरहेछु ।