Hemanta Pardeshi – Timrai Astha Ko Bijaya Hunechha

हेमन्त परदेशी – तिम्रै आस्थाको विजय हुनेछ

बम र बारुदले उडाउन सक्दैन ,
न त फलामे सांग्लाहरुले नै बाँध्न सक्छ ।
आगोको ज्वालाले जलाउन सक्दैन ,
न त हिटलरी शासनहरुले नै गलाउन सक्छ ।
मानवरुपी भौतिक शरीर मरेर जान्छ ,
तर आस्था सधै अमर रहन्छ ।
त्यसैले शहीद!
तिमीले रुनु पर्दैन ,
मृत्युको ग्लानिबोधले रत्तिभर छट्पटिनु पर्दैन ।
भौतिक शरीर बिलाएर गयो त के भयो ?

तिम्रो आस्था अझै मरेको छैन ,
र युगौ युग मर्ने पनि छैन ।
बस् फरक यति छ –
आज तिम्रो त्यही आस्था माथि स्वघोषित ठुलाबडाहरुले ,
मनपरि रत्यौली खेलिरहेकाछन् ,
मृत्यु पर्यन्त परलोकमा समेत् –
ब्रम्हलुट् मच्चाउने दिवासपनामा ,
तिम्रै आस्थाको पुच्छर् समातेर –
बैतरणी पार गर्न खोजिरहेकाछन् ।
तर ढुक्क बन शहीद!
तिम्रो आस्था अब एक्लै छैन ,
शदीयौ देखि मुकदर्शक बनेर –
इतिहासको गवाह बन्दै आइरहेको यो देस ,
अब त्यसै चुप लागेर बस्ने छैन ।
भन्नैपर्दा………….
अब सगरमाथाको शीखरमा पनि –
तिम्रै आस्थाको झन्डा फहराउनेछ ,
तिम्रो आस्थाको पुच्छर समातेर,
बैतरणी तर्न खोज्नेहरु –
बीच बाटोमा पुग्न नपाउदै ,
समुन्द्रमा अकल्पनीय सुनामी आउनेछ ।
र त्यो दिन………
सुषुप्त ज्वालामुखीको बिष्फोटसँगै ,
कहिल्यै हारमा अनुवाद नहुने –
तिम्रै आस्थाको विजय हुनेछ ।