Prakash Sayami – Shakuntala Number Dui

तिलस्मी दाँतलाई
कृत्रिम माजनले चमक दिएर
एक अस्वभाविक मुस्कानकासाथ
फोसिल उडेको बेल्जियमी ऐनामा
आफ्नो अनुहारको भूगोल हेर्दै
हठात् अाजलीले आफ्नो हराएको औंठी सम्झी
त्यो औंठी
उनले पोखरीमा कतै पोखरामा हराएकी थिई
मनमा उत्ताल पोखरीहरु पौडिरहेको बेला
अाजली त्यो औंठीसित खेल्थी र भन्थी-
म कदापि शकुन्तला बन्न चाहन्नँ ।
समयले उनलाई
आज शकुन्तलाको अर्को रुप दिएको छ
औठी हराएकी शकुन्तला
स्वर वर्णमालाको पहिलो अक्षरमा नाम धारण गरेकी
अक्षरी
कक्षा कोठामा
क्लास टीचरले हाजिरीकापी
पल्टाउने बित्तिक्कै उठ्थी
र ऊ बस्दा
अरु उठ्ने क्रममा हुन्थे
सदैव
कक्षा कोठामा उनी रोलनम्बर एक थिई
र त्यो नै तिनको परिचय थियो
आज इतिहासले
तिनलाई रोलनम्बर दुई बनाइदिएको छ ।

नजीर भन्छ –
ऊ गाउनको लागि होइन
ऊ गुन्गुनाउनको लागि जन्मिएकी हो
सँधै ऊ बिहानीमा घिमिरेको हिमालकी छोरी बन्थी
तर समय सरगमले
आज उनलाई
गीतमा होइन गणितमा अल्झाइदिएको छ ।