Sarubhakta – Sashakta Aina Haru : Ragatka Nadi Haru


कालो कालखण्डः दिब्योपदेशका क्षतविक्षत आत्माहरु
कुहिरो दूर्घटित छन्
अनिदो मनको देश चितास्तम्भ जलेका छन्
खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ?
सम्यताहरुको युद्ध: ढुङ्गा वर्सिने घरहरु
हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु
भागवत् व्यापारमा व्यस्त छन्
ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु
हामी जीउमा मइलका कत्ला बोकेर सेतो
मत्स्येन्द्रनाथको महास्नानमा ब्यस्त छौं
भुरेटाकुरे भावुकता त्रिशंकुयुगीन धुपधवाँर
मस्तिष्कहरु मस्तिष्कहरुको युद्धमा छन्
विश्वलाई हामीले सम्वुद्ध दियौ
सट्टामा विश्वले हामीलाई डलर र येन दिदैछन्
राइटर बाजेः के हाम्रो सगरमाथा विदेशतिर विक्रीमा छ ?
हामी हरुवा तर वीर सत्रुका सन्ततिहरु
कुन आठपहरिया कमाण्डो जागिरमा छौं ?
आह ! अग्निपरीक्षाहरु अग्निपरीक्षामा छन्
यसर्थ आजभोलि देशमा शक्तिहरु हिड्छन्
नागरिकहरु हिड्दैनन्
सत्रुहरुको देश कहाँ छ ? त्यही जहाँ हामी
एकअर्काका मित्र छैनौं
देशमा नरसंहार चलेको छ त्यसैले आउ
सस्ता खप्परहरुका महङ्गा प्लान्चेट खेलौं
ए ! के सुरक्षामा छन् असुरक्षित सुरक्षाकर्मीहरु ?
जाउँ वरु खाडीतिरै, भविष्य भेटिन्छ कि ?
वेल्जियमबाट आयातीत सशस्त्र ऐनाहरु
हिमालवाट बग्दैनन् रगतका नदीहरु ।