Krishna Prasai – Sano Samjheko Man Parchha

मेरा सारा मौनतालाई चिरेर–
मनै बिथोलिने गरी–
एक पटक त उसले,
आफु सिंगैको मोल सोधी,
मानौ ऊ रेडियो र टेलिभिजन झै भएर,
मेरो घरमा भित्रिएकी हो।
सबै थोक किन्नु पर्ने शहरको संस्कृतिमा,
मानौ उ पनि सौदा भएर
मेरो घरमा किनिएकी हो।
सौदा र उसमा–
फरक यति छ,
जबरजस्ती हक जमाउने छुट छ उसलाई।
पटक–पटक सिमाना नाघेर
मेरै कपाल समाउदै,
मलाई घोडा बनाउने पनि,
छुट छ उसलाई।
उसका एस्ता मनोमानी विरुद्ध,
म विरोध वा आन्दोलन गर्न सक्दिन।
रिसाएर कट्टी गरीरहने उसको जिरह विरुद्ध।
म उसलाई निषेधाज्ञा भर्न पनि सक्दिन।
मैले बरोबर हात्ती भैदिनु पर्ने,
उसको उर्दीलाई कुनै कानून पनि लाग्दैन।
जुन नगर भन्यो, ऊ त्यही गर्छे।
जुन नखा भन्यो, ऊ त्यही खोज्छे।
कहिले काही उल्टो बोलेर–
सुल्टो गराउनु पर्छ उसलाई।
यति हुदा–हुदै पनि,
म उसलाई सजाय दिन सक्दिन।
म उसलाई अयोग्य ठान्न पनि सक्दिन।
ऊ रुनु मेरो कम्जोरी हो भनेर,
तपाईले विश्वास गर्नु भएको छैन भने,
ऊ अरु कोही नभएर,
म भन्दा उमेरले चालिस वर्ष कान्छी–
मेरी सात वर्षे छोरी प्रविधि हो।
मलाई उसको हासोमा मेरो सृष्टी मुस्कुराएको मन पर्छ।
दिनहु कलम र कापी समातेर उसले– प्रश्न सोधेको मन पर्छ।
र कहिले काही,
मेरो उमेर स्वातै घटाएर,
उ जस्तै सानो सम्झेको मन पर्छ।