Sarubhakta – Pratikchhit Pratikchhya

जीवन = नौका
पीतसागरमा दुर्घटनाग्रस्त छ
नौसैनिकहरु लापता छन्
बुटिकका
खप्तडका बाबाहरु
साइवर प्रेम÷घृणामा व्यस्त छन्
खोई कहाँ पुग्यो विश्वतापमान ?
म हरितगृहतिर बसेर
इत्ना ओजन विनासको तमासा हेर्दैछु
सुरुङभित्रको पृथ्वी
गिरफ्तार मनोकामनामा ज्क्ष्ख् सेलिब्रीटी जन्माउँछन्
म हिमतालका आकाशेपुलमा सिरुवा मेला पो भर्दैछु
कासनोभा ः रतीरागका ओशोतपोवनहरु
संकटकालीन वत्ती घोखा परेको छ
आह ! यो सैतानहरुको दुनियाँमा
गुनासो पोखुँ म कुन ईश्वरसित ?
सरिया कानुन ः सुनाखरी फुलेको छ
मत्ताहात्तीका विगविगीमा
विद्युतप्रवाहित छन् हात्ती सुँढे माछाहरु
क्योटो प्रोटोकल ः ट्याङ्करमा पानी चुहिएको छ
आउ, हामी निर्वासित मनहरु वोकेर
वम वोकेका हिमलहरुलाई विदाई गरौं
सावुनका स्याउ खाएर
हिउँ फुलेका रुखहरुले कायाकल्प पर्खिरहे
आजभोलि समयहरु पृथकतावादी कब्जामापो छन्
साम्वा नृत्य महोत्सव
कहिले हुन्छ झलकमानदेखि फत्तेमानसम्म ?
म त सुन्दर कविता रच्ने
कुरुप कविहरुद्वारा उत्पीडित पो छु
वर्मुडा त्रिकोण ः सगरमाथाहरु हराएका छन्
अद्यापि लिङ्ग र जलहरीहरु
खोजीदस्ता जन्माउने प्रतीक्षामा
प्रतीक्षित छन्