Sarubhakta – Pida Ka Yaam Haru

मायामन्दिर
ढुङ्गाका मनहरु रोएर
हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं
जिन्दगीका त्रासदीगाथाहरुमा
नरभक्षीहरुको अवतरण छ
पीडाका यामहरु टेकेर भगुवा विश्वासहरु
ज्वालामुखी पर्वततिर लागे
जाउँ, वसाईं सरौं अन्तरिक्षतिर
अहिले नेपालमा बस्नु ठीक छैन
वेवसाइटमा थोत्रिएको देश
सभ्यताका जंगलहरु आवाद छन्
आह ! अहिले हामी हिमाल होइन
हिमालको छाँया आरोहणमा व्यस्त छौं
गेलापेगस टापुका वासिन्दाहरु
व्यर्थ देशका व्यर्थ सम्वेदना वाँच्दैनन्
किन हामी जिन्दगीको मृतसागरमा
पूरै जीवित छौं ?
जिन्दगीको स्पेक्ट्रमः रङ्गहरुले धोखा दिन्छन्
नाथे जिन्दगी – जिन्दगीको अर्थ
खोज्दाखोज्दै सकिदोरहेछ
रछ्यानका स्वर्गहरुः कोकशास्त्रीय हेराइहरुमा ठोक्किन्छन्
आह प्रेम ! रोष्टपरी झुण्डिएका छन्
जिन्दगीका यौन बजारहरुमा