Krishna Prasai – Mero Gaun

चामल गनेर धामी अझै जोखाना हेर्दैछन्।
कतै उधौली उभौली का बेला केही कसुर पर्यो कि?
या पोहोरको गोठधुपमा कुनै मुन्धुम् पुगेन कि?
सगुने र सिमेभुमेका लागि भाले त मन्साएकै हो।
बायु पस्योकी भनेर भेटी पनि पन्साएकै हो।
देवी देवतालाई भाकल पनि चढाएकै हो।
बुढीबजु त हाम्री कुलदेवी सरह नै हुन्
कस्तो लगान लागेको हो यो उमेरमा पनि?
सिकारी लाग्दा त फत्र्र्याक् फत्र्र्याक् पार्छ ,
अलिकति अक्षता फ्याकेर बनझाक्रीले―
डाकिनी साकिनीको समेत दोहोलो काढेकै हो।
“ गाउँमा अझै मसाने भुतहरु छन्”
यहाँ यस्तै यस्ता कुराको खेती हुन्छ।
तिमीले विकास पस्यो भन्दैमा म कहाँ पत्याउँछु र!
सूर्य हेरेर समय बोलिने यो ठाउँ,
मेरो आफ्नै पुरानो गाउँ हो भाई ―!
जहाँ साइत र कुसाइतहरु छन्।
जहाँ सकुनका अक्षताहरु अन्मन ,
अलिकति मन्त्र फुकिनै पर्छ
अझै पनि मेरो गाउँ बिउँझन ,
एउटा भाले बास्नै पर्छ।