Bhojraj Baral – Maryada

भोजराज बराल – मर्यादा

म जन्मे र हुर्केको माटोमा,
मेरो पनि मर्यादा हुन्छ भने,
त्यो माटोमा,
कसैले केहि रोप्नु अघि,
मलाइ पनि सोध्नु न्याय हुन्थ्यो.

बेफ्वाक्मा हुने नहुने रोपेउ,
गोला बारूद,
जीवि, परजीवी,
फल्ने, नफल्ने,
हरेक चिज रोपेउ.

तिमीले,
मिचेर,
सबथोक गरेउ.

मैले लगाएका,
रातका फेरिहरु,
ढोका थुनेर,
सुनीरहेउ.

प्रकृति हो,
एकदिन तिमि भन्दा,
अझै बलियाको,
श्रीष्टि हुन सक्छ,

म,
त्यस दिनको पर्खाइमा छु,
जब,
तिमि पनि,
मलाइ मिचे झैँ,
पानि घट्टमा,
मकैका गेडासरि,
निरिह पिधीन सक्छौ,
धूलो पिठो नहुँदा सम्म,
गुहार भन्नै नपाइ,
पिधीन सक्छौ,
पिधिन्छौ!

– London