Sarubhakta – Joon Ko Krandan

कुहिरेयात्राः उल्टो घुमेका पाङ्ग्राहरु
प्लाष्टिकका पालमुनि वसेर हामी
गगनचुम्वी भवनहरुको पोष्टर हेर्दैछौं
नेपथ्य युद्धहरुः प्रदक्षिणा विम्वहरु टिपेर
शीतलहरीय ढोलपिटाई अभियानमा जुटेका छन्
खोई कहाँ के गर्दैछन् परा–संभाषणयुक्त
नेपाली तालिवानहरु ?
‘पोभर्टी म्यापिङ – गरीवीमापन नक्सामा
हामी कति धनी छौं ?’
यन्त्र मानवहरुको वस्तीमा भूमिगत सुप्रिमोहरु
कुरा गर्दैछन्
आह ! सप्रसङ्ग शून्यतावोध
मसित सपनाहरु दुखेको मन छ
फोसिल मायाः मुर्कट्टा विश्वासहरु
खोई कता लागे जीउँदा जीवाष्महरु
रेडकर्नर नोटिस पढ्दै ?
माकुराबजारः डिस्कोथेक
युद्धविराम युद्धहरुमा
रेडलाइट एरियाका धर्मशास्त्रहरु
उप्m ! कसरी जन्मदैछन् जिलेटीन कोच्चिएका गिदीहरुबाट
क्लोनिङ शिशुहरुको अधोपिढी
रिक्त ओदानः खुदुनावारी शिविरहरु
अन्तहीन दुष्चक्रहरु बोकेर
अद्यापि हामी भुरेटाकुरे–वाइसेचौवीसे टुक्राहरुमा
विभक्त छौं
जूनको क्रन्दनः औंसीका रातहरुसित
सप्रसङ्ग देशमा
कमैया गार्गीहरु वलात्कृत छन्
भिक्षु नावातामेहरु बुद्धको भूमिका मारिन्छन्
आह ! शबहरु शबपरीक्षा गर्दैनन्
प्रजातन्त्रमा टाउकाको मोल कति
टाउको टेकेका सगरमाथाहरु ?