Bhupin Byakul – Hastaakshar

भूपिन ब्याकुल – हस्ताक्षर

नाङ्गै पैतालाको धुलोले
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ !

त्यहाँ अरु केके छ म जान्दिनँ
पर्खालभित्र
एउटा मांसहारी रुख छ
त्यसको फूलमा ज्यानमारा गन्ध छ
शताब्दीऔंदेखि
त्यही गन्धले
मेरा सपनाहरुको भोज खाएको छ

समयको बाढी पसेर
मलाई
त्यसको जरा उखेलिएको हेर्ने रहर छ !

समय जाम परेको सडकमा
त्यस नरभक्षी रुखलाई
अवतार मान्नेहरुको कुरूप भीड छ
लस्कर छ –
रुखको खुनी खुट्टामा
सस्तोमा टाउको चढाएर
घर फर्किने मुर्कट्टाहरुको
त्यसले मेरी आमाको कोखबाट खोसेर
एउटा उज्यालो युगलाई
मेरै अगाडि निर्लज्ज निलेको छ

एउटा हुरी आएर
मलाई
त्यसको फूल झारेको हेर्ने रहर छ !

मेरी आमाले गुमाएको समयको नाममा
रुख उखेलेर
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ

नाङ्गै पैतालाको धुलोले
त्यहाँ मलाई एउटा हस्ताक्षर गर्ने रहर छ !