Baidyanath Upadhyaya – Bidambana

वैद्यनाथ उपाध्याय – विडम्बना

दिन रात खुल्ने यी दृश्यपटहरूमा
आफ्नोपनको कहीं
केही आभाष सम्म पनि छैन।

च्वास्स च्वास्स दुखीरहेछ
कहीं भित्र भित्रै
उखेलिंदैं गरेका
आफ्ना जराहरू।

आकांक्षाका उर्लंदो
विकराल भेलहरूमाझ
मेरा थोपा थोपा इच्छाहरू
मिसएर कता बगे कता!

खै अब यो बासनाको
उर्लंदो भेललाई
अँजुलीभरी थापेर
यो मेरै चाहना हो भनेर
म कसरी भनुँ ?

मेरै जीवनका उकाली- ओरालीहरूलाई
एकाकार गरेर
भेल बगिरहेछ छताछुल्ल चारैतिर
मैले बाँचेको यो कस्को समय हो?
अगाडी खुल्दैछ भयानक दृश्यहरू
आफूसंग आफ्नै परिचयको
कुनै निसान सम्म पनि छैन
छातीका धडकनहरूलाई साक्षी राखेर
म अझै बाँचेको छु भनेर
कसरी भनुँ?