Thakur Man Lama – Rana Maidan Ko Jhalak

उफ !
बम र बारुदको धुवामा
नजरहरु दुस्मनलाई
हेर्न थाक्दै गइरहेछन्
कारुणिक दारुणिक चिच्यावटहरुमा
आफ्नै कमाण्डरको आदेश
सुन्न छाड्दै गइरहेछन्

चोइटा चोइटा टुक्रिएका लाशहरु
छातीमा गहिरो घात पुर्‍याउदैछन्
किन गर्दैछौ अरुको संहार
ह्दयमा यस्ता अनेकन
बात हुर्क्याउदैछन्

नजिकै एक घाइते दुस्मन
पानी पानी भन्दै माग्दै गरेको
उफ ! मनमा
राष्ट्रियताको भावना पुग्दा
मित्रबाट मानवतालाई कुल्चिन पुगेछन

सम्झाउन सक्दिन मित्रहरुलाई
कारण दुस्मनी गोली धमाधम बर्सिरहेछन
मानवतालाई बिर्सी देश स्वाभिमान
आँखासामु नाचिरहेका छन्
त्यसैले होला
हर कोही खुखार हिस्रक बन्दै गइरहेछन्

रणमैदान रगतको समुद्र
यत्र तत्र बन्दै गईरहेका छन्
उता भित्र भित्रै ह्दयमा तप्किरहेको
ज्वालाले शान्ति शान्ति
चाहियो भन्दै गइरहेका छन्
कतैबाट शान्तिको सन्देश
आउँछ कि कान तेर्सिदैछन
तर
बम बारुद र धुवामा
ती कानहरु सुनिन छाडिदैछन
ती कानहरु थुनिन पुग्दैछन

Thakur Man Lama – Manchhe Ko Parichaya

ठाकुर मान लामा – मान्छेको परिचय

मान्छे पहाड बन्छन् होइनन
पहाड बन्ने कोशिश गर्छन्
नसक्नेले पनि सक्छु भनी
कोर्रा कुरा त्यसै पनि हाक्छन्

हुनेसँग सम्पति त हुने नै भए
नहुने पनि छ भन्छन्
कोही किन कोसँग झुक्ने
कोही किन त्यसै झुक्छन्

निर्धोको अगाडि जो पनि
आफुलाई भगवान नै ठान्छन्
भगवान ठुलो उ भन्दा छ माथि
भनी कहिले पो मान्छन्

जातमा तल पर्‍यो
उसलाई नानाथरी गालीले घोच्छन्
मानव सब समान जगतमा
भनी कहिले पो सोच्छन्

बुद्धिमानी भनाउँदाहरु सधै
आफैमात्र जान्ने हु जस्तो बन्छन्
आर्दशवाद सिद्धान्तका कुरा तर
गवाँर मान्छे पनि गर्छन्
सानै नै किन नहोस् जीतमा
जहिले पनि खोक्रो आडम्बर भर्छन
अरुको सेवा किन गर्नु
आइपरे बहाना बिभिन्न गर्दै पर सर्छन

Thakur Man Lama – Jiunu Pare Jiunchhu Ma Ta

जीउनु परे जीउछु म त मेरै गीत सित
मर्नु परे मर्छु म त मेरै गीत सित
यो गीत मेरो धडकन
यो गीत मेरो जीवन

सपनीमै गाउँ म त
विपनीमै बाचुन्जेल
कोरी रहु गीत म त
विहान रात दिन
गीतका पाइलाहरु
पछ्याइरहु
यो गीत मेरो धडकन
यो गीत मेरो जीवन

सुख दुख जीन्दगीका
बोकिरहु गीतमा
साटिरहु प्रितहरु
सधैभरि यसैमा
हर कुना कुनामा
यो गीत गुन्जाइरहु
यो गीत मेरो धडकन
यो गीत मेरो जीवन

जीउनु परे जीउछु म त मेरै गीत सित
मर्नु परे मर्छु म त मेरै गीत सित
यो गीत मेरो धडकन
यो गीत मेरो जीवन

Thakur Man Lama – Dukha Bandera Jiunu Bhanda

दुःख बाडेर जीउनुभन्दा दुःख पिएर मर्नु जाती
साथ दिने कोही हुन्नन संसारकै यही हो रिती

संसार नै एउटा यस्तो के हो बुझ्न नसकिने
जता हेर्‍यो अर्कै लाग्ने बाटो खोज्न नसकिने
उज्यालो जुन तर मनमा छाया
भरोसा केही हुन्न जीन्दगीको यहाँ
दुःख बाडेर…………

जीउनु पर्छ एक्लै यहाँ मर्नु पनि एक्लै यहाँ
बसन्तको फुल पनि ओइलिजान्छ एकदिन यहाँ
देलान हाँसो कसैले कसैगरी
आफ्नो दुःख आफ्नै छातीभरी
दुःख बाडेर

Thakur Man Lama – Swagat Nawa Barsha

तरङ्गित मौषम उन्माद त्यस्तै पार्न
मनमा उल्लास खुशी तनमा भर्न
स्वच्छन्दताको पवन बहार बहदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न
सपना रंगीन सबले यही देखि साँच्न
शितलता ती जुनका लेप सरी लगाउदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

दुःख कष्ट सब सदा नासिउन
मनमा कतै रीस राग क्रोध नआउन
यस्तै यस्तै कामना ह्दयमा जगाउँदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

पुलकित हुदै पालुवाहरुमा कोमलता लहराई
फैलाई बाहु शान्तिको आवाज उठाई
कुना काप्चा कन्दराहरुमा ज्योति भर्न
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

हिजोको तिक्तता मैलता सबै बिर्साउन
एकताको भाव सँगै हाथ अघि बढाउन
सुन्दर सुनौलो भबिष्य यही नयनमा देखाउदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

Thakur Man Lama – Khoji

कसले लेख्यो यो कबिता
खोज्दैछ यो संसार
बाँच्दा कसैले वास्ता गरेन
बिचित्र छ यो संसार

कति हर्षका शब्द लेखे
स्वीकारेन यो संसारले
कति पिडाका अक्षर कोरे
बुझेन यो संसारले

प्रकृतिको आचल छोए
हेरेन यो संसारले
मातृभुमिको माटो लाए
देखेन यो संसारले

अस्तित्व आफ्नो आफैले बिर्सिए
चियाउन पनि चाहेन यो संसारले
ह्दय छिया छिया पारी बाडे
सम्झेन कतै यो संसारले

फेरी
किन आज मलाई सोध्दैछ
किन आज मलाई डाक्दैछ
टाढिई सके यो जुनीबाट
त्यै पनि मलाई खोज्दैछ
यो संसारले
यो संसारले …।