Basu Dhakal – Dashain

बासु ढकाल – दसैँ

प्रत्येक बर्षको दसैँ
थुप्रै टाउकाहरु छिनेर बिते
र पुनः
रावणका झैँ पलाएनन्
बोका खसीको झैँ भो
मान्छेको नियति
आफै संग पराजित छ कठै मान्छे
र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ?
ऊ आफैलाई थाह छैन
एउटा गतिलो दसैंको चाहना नमेटिदै
थुप्रै मानवीय टाउकाहरु बलि चढे
थुप्रै सिऊँदोहरु उजाडिए
तर सिंगो देशमा कहिल्यै दसैँ आएन
एक टुक्रा चिची र एक धर्को नानामै
अझै गाउँ बेसी दसैँ खोज्दैछ
र यतिखेर
पश्चिमा जिन्दगी बाँचेर
पूर्वीय संस्कृति जोगाउने धुनमा
आडम्बरी दसैँ मनाउदैछौ हामी
र सधै ..
बराजुका थाप्लामा बाजेले गीर खेल्दै दसैँ मनाए
बाजेको थाप्लामा बाले
र म आफ्ना बाका थाप्लामा गीर खेलेर नपुग्ने अनुमानमा
रातदिन मरिमेट्दै छु
बस्
मेरी आमा
खै कस कसलाई
के पो आशिर्बाद देलिन्
एकै घरको छानामा
चार थरि झण्डा गाडिएका बेला
मनमनै भन्दिहुन्
बजियाहरु सप्पै सिंहदरवार पसेनी हुन्थ्यो नि बरु
साच्चै
एक्लै बूढाको जिउनी सम्हाल्थे
उतै नारा लाए नि लाउन
टायर बालेनी बालून्
मन्त्रि बनेनी बनून्
मलाई त शान्ति हुन्थ्यो नि
यत्रा बर्षमा जाबो संबिधान त नबनाउने मोराहरुले
खै के पल्लान र आश गर्नु व्यर्थै
भुत्ते हसिया उद्याउँदै
गनगन गर्दै थिन्
सनै: सनै:
उनको खुम्चिएको निधारको रेखामा
क्रमश:मैले आफन्तबाटै अतिक्रमित
शिमारेखाहरु भेटें
र मलाई
सिंगो धर्ती याद आयो !!
र कहिल्यै नहारेको दसैँ याद आयो !!

अमेरिका

Basu Dhakal – Maasinchha Ki Mero Desh

मासिन्छ कि देश मेरो

बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो

बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो

मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति

आफू आफू के का लागि
कुस्ती खेल्नु घरी घरी
नेपालीले कतिन्जेल
दुख: झेल्नु सधैभरि

एउटै जात नेपालीको
हात देऊ अलिकति
नेपाली हुँ भन्न लाई
साथ् देऊ अलिकति

डेविस, क्यालिफोर्निया

Basu Dhakal – Ama Mato Ra Dharti

बासु ढकाल – आमा, माटो र धर्ती

आमा!
मलाई एक मुट्ठी माटो देऊ
कतै जीवन दर्शनको उकालोमा
थकाई मार्नु पर्ला
म,चौतारी रोपी दिन्छु
अथवा
मलाई एक मुठी ऑटो देऊ
कतै देश निर्माणको बाटोमा
भोक मेटनु पर्दा
म दुईचार टुक्रा रोटी बेली दिन्छु
या
मलाई गोरेटो बाटो देऊ
ठेल मठेल गरी हिडीरहेका संततिलाई
काँडाहरु पन्छाएर यी हातहरुले
म मूल सड़क भेटी दिन्छु
माटो
जीवनको आदि र अंतस्थल
उर्बर बनाउनु पर्ने हातहरु
बारूदको रोपाईमा जुटेका छन,फुटेका छन
माटो बाटै उदाएर,
साँझ नपर्दै अस्ताएका छन्
धर्ती
सहेको सह्यै छ
तिम्रो शिर सागरमाथा
मान्छेहरुको आगमन प्रत्यागमनको
दृश्य,परिदृश्य हेरेर
मौन
एकनास अविछिन्न
संसार सामु उभिएको उभियै छ
जननी
मलाई एउटा चौडा छाती देऊ
बुद्ध बनेर संसार सामु
सदा सागरमाथा झै
अनवरत, अनन्तसम्म
अविछिन्न शान्त उभिन सकूँ ।

अमेरिका

Basu Dhakal – Aaja Bholi

बासु ढकाल – आज भोलि

आज भोलि काठको घर
धमिरा लाई जिम्मा ला छ
जून लाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा छ

सबैलाई समानताको
पगरिले गुथ्ने संग
आज भोलि ठेला गाडा
ठेल्नेकोनी सत्तो गा छ

संसार बाटै फ्याकिएको
एउटा बूटी पलाको छ
भता भुंङग परेर देश
मूढे बल ले चलाको छ

हात नंग्रा खियाउनेको
घटी गला रेटने संग
डराएर आफ्नै घरमा
मान्छे आफै पराई भा छ